माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना
माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
प्रदेश निर्वाचन कार्यालयमै राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय राखिएको हो । कार्यालयको बुधबार जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत गीता श्रेष्ठले उद्घाटन गर्नुभएको छ ।

उद्घाटनसँगै उहाँले निर्वाचन अधिकृतको पदभार समेत ग्रहण गर्नुभएको छ । कार्यालय स्थापना भएसँगै राष्ट्रियसभा निर्वाचनको औपचारिक प्रक्रिया सुरु भएको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरि प्रसाद भुसालले जानकारी दिनुभयो ।
उहाँका अनुसार बागमती प्रदेशमा दुई जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ । तीमध्ये एक जना महिला र एक जना अन्य समूहबाट निर्वाचित हुनेछन् ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार बागमती प्रदेशसभाका एक सय १० जना सदस्य र प्रदेशका १३ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख २ सय ३८ जना गरी कुल ३ सय ४८ जना मतदाता रहेका छन् ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ । मतभारको हिसाबले स्थानीय तहका प्रमुख–उपप्रमुखको कुल मतभार ४ हजार ५ सय २२ र प्रदेशसभा सदस्यको मतभार ५ हजार ८ सय ३० गरी जम्मा १० हजार ३ सय ५२ मतभार रहेको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिका–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयलाई मतदान स्थल तोकिएको छ। । जहाँ, दुईवटा मतदान केन्द्र रहनेछन् । विद्यालयको ‘बी’ ब्लकमा मतदान हुनेछ भने प्राविधिक भवनमा मतगणना गरिने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

बुधबार नै मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरूले मतदान स्थलको निरीक्षण समेत गर्नुभएको छ । निर्वाचनका लागि प्रति मतदान केन्द्र ८ जनाको दरले १६ जना कर्मचारी खटाइने जानकारी दिइएको छ ।
मतदान प्रक्रियाअनुसार प्रदेशसभा सदस्यले सेतो कागजमा हरियो रङको मसिले विवरण तथा चिन्ह उल्लेख गर्नेछन् भने स्थानीय तहका प्रतिनिधिले रातो रङको मसिले मतदान गर्नेछन् । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकेको छ ।
निर्वाचन कार्यतालिकाअनुसार पौष १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । सोही दिन ११ बजेदेखि पौष २० गते अपरान्ह ४ बजेसम्म दाबी–विरोधका उजुरी दिन सकिनेछ ।
पौष २१ र २२ गते उजुरीमाथि छानबिन हुनेछ भने पौष २२ गते दिउँसो ३ देखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।
पौष २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, सोही दिन ३ देखि ४ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ । पौष २४ गते उम्मेदवारविरुद्ध उजुरी, पौष २५ र २६ गते उजुरी तथा मनोनयनपत्रमाथि जाँचबुझ गरिनेछ ।
पौष २६ गते दिउँसो ३ बजे उम्मेदवारको नामावली प्रकाशन, पौष २७ गते नाम फिर्ता र अन्तिम नामावली प्रकाशन तथा पौष २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।
हाल बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य रहेका तत्कालीन नेकपा (माओवादी केन्द्र) की गंगा कुमारी बेलवासे र तत्कालीन नेकपा (समाजवादी) का बेदुराम भुसालको पदावधि २०८२ फागुनबाट सकिन लागेको छ ।
ती रिक्त हुने पदका लागि बागमती प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचन हुन लागेको हो ।






