हेटौंडामा १२ औँ सडक खाना महोत्सव पुस १३ देखि

छहारी संवाददाता
पुस ९, २०८२

मकवानपुर होटल एसोसिएसन, हेटौंडाको आयोजनामा १२ औँ सडक खाना महोत्सव यही पुस १३ गतेदेखि सुरु हुने भएको छ ।

“सडकमै जाऔँ, सडकमै खाऔँ, सडकमै रमाऔँ” भन्ने नारासहित आयोजना हुने महोत्सव पुस १६ गतेसम्म चार दिन सञ्चालन हुनेछ ।

महोत्सवको तयारीबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दिलिस गोविन्द जोशीले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो ।

हुप्रचौरको खेलमैदानदेखि पूर्वतर्फको उत्तर–दक्षिण सडक क्षेत्रमा महोत्सव आयोजना गरिने बताइएको छ । महोत्सवको समुद्घाटन पुस १३ गते अपराह्न ४ बजे संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले गर्नुहुने कार्यक्रम तय भएको छ ।

महोत्सवमा पौराणिक संस्कृतिदेखि आधुनिकसम्मका विभिन्न जातीय परिकारहरू एकै स्थानमा पाउन सकिने आयोजकले जनाएको छ । महोत्सवमा करिब ६० वटा स्टल रहनेछन् ।

रैथाने परिकारका १० वटा स्टल निःशुल्क उपलब्ध गराइनेछ भने अन्य स्टलका लागि चार दिनको १० हजार रुपैयाँ शुल्क तोकिएको अध्यक्ष जोशीले जानकारी दिनुभयो । महोत्सव सञ्चालनको अनुमानित लागत खर्च करिब १५ लाख ७२ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

महोत्सवबाट ७० देखि ८० लाख रुपैयाँसम्मको कारोबार हुने अपेक्षा गरिएको छ । महोतसवको स्थानीय तथा बाहिरी जिल्लाका साथै सीमावर्ती छिमेकी भारतबाट समेत अवलोकनकर्ताको सहभागिता हुने अनुमान गरिएको छ ।

महोत्सवका लागि हेटौंडा उपमहानगरपालिकाबाट ४ लाख रुपैयाँ र सम्बन्धित मन्त्रालयबाट १ लाख ५० हजार रुपैयाँ प्राप्त हुने जानकारी दिइएको छ । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको नृत्य, गायन र ब्याण्ड प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन समेत प्रदान गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*