कैलाश ४ धुसराङका प्रजा दम्पतीलाई घर हस्तान्तरण

अति विपन्न समुदायका लागि प्रदेश सरकारले एक हजार घर बनाइदिने
छहारी संवाददाता
पुस ६, २०८२

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अति विपन्न समुदायका लागि प्रदेश सरकारले एक हजार घर बनाइदिने  बताउनु भएको छ ।

आइतबार कैलाश गाँउपालिका ४ धुसराङका एक दम्पतीलाई घर हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री बानियाँले कार्यविधि बनाएर गरिब, दलित, सिमान्कृत, चेपाङ लगायत अति विपन्न समुदायको उचित बासस्थानको लागि एक हजार घर बनाउने नीति सरकारले लिएको बताउनुभयो ।

घरसंगै जिविकोपार्जनका लागि स्थानीय तहसंग समन्वय गरि शून्य प्रतिशत ब्याजदरमा दुई लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने योजना अघि बढाएको उहाँले बताउनुभयो । मुख्यमन्त्री बानियाँका अनुसार पहिलो चरणमा प्रदेशको १३ जिल्लामा ५०–५० घर बनाएर हस्तान्तरण गरिनेछ ।

मुख्यमन्त्रीको पदभार ग्रहण गरेलगत्तै आफ्नो निर्वाचन क्षेत्रका अति विपन्न परिवारको घर निर्माण गर्ने घोषणा गर्नुभएका मुख्यमन्त्री बानियाँले प्रजा दम्पत्तीको लागि सुरक्षित आवास निर्माण गरी आइतबार हस्तान्तरण गर्नुभएको हो ।

करिब ८ लाख रुपैयाँ लागतमा जस्तापाता र ब्लकको तीन कोठे घर तथा शौचालय निर्माण गरी बिपन्न प्रजा दम्पती लाई हस्तान्तरण गरिएको हो ।

साथै मुख्यमन्त्री बानियाँले सन्तान विहीन प्रजा दम्पतीको जीविकोपार्जनका लागि २० हजार रुपैयाँ नगदसमेत प्रदान गर्नुभएको छ । लालकुमार प्रजा लामो समयदेखि आफ्नै जग्गामा खरको छानो र काठपातले बेरिएको जीर्ण घरमा बस्दै आउनुभएको थियो ।

प्रजा दम्पतीको अवस्थालाई मध्यनजर गर्दै कैलाश गाउँपालिकाले सुरक्षित आवास निर्माणका लागि मुख्यमन्त्री बानियाँसमक्ष सिफारिस गरेको थियो । घर हस्तान्तरण कार्यक्रममा कैलाश गाउँपालिका प्रमुख लोकबहादुर मोक्तानले प्रजा दम्पतीलाई लत्ताकपडा, भाँडाकुँडा लगायत आवश्यक सामग्री समेत सहयोग गर्ने बताउनु भयो ।

यसअघि  मनहरी गाउँपालिका–९ ज्यामिरेकी विपन्न दलित महिला मिठुमाया सुनारलाई घर हस्तान्तरण गरिएको थियोे ।मुख्यमन्त्री बानियाँले आफ्नो सेवा–सुविधा वापतको रकमबाट सुरक्षित आवास निर्माण गर्नुभएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*