ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, १८ जना घाइते
मकवानपुरको बकैया गाउँपालिका–७ अँधेरीमा ट्र्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । १८ जन घाइते भएका छ्न ।
लु ५ त १७४ नम्बरको ट्र्याक्टर मंगलबार दिउँसो दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका २२ जनामध्ये उपचारका क्रममा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेमा बकैया गाउँपालिका–७ अँधेरीका अन्दाजी ५०/५५ वर्षका केशव माझी, सोही स्थानका अन्दाजी ५०/५५ वर्षका युवराज माझी र अन्दाजी ४५ वर्षका सन्तलाल माझी रहेका छन्। मृतकको शव पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको छ ।
दुर्घटनामा घाइते भएका १८ जनाको हेटौँडास्थित सीएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये केहीको अवस्था गम्भीर रहेको र आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता पुष्कर बोगटीका अनुसार दुर्घटनामा परेका सबै जना फास्ट ट्र्याक निर्माण कार्यमा संलग्न मजदुरहरू हुन्। उनीहरू खाना खान अँधेरीतर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।







