भत्काएका संरचनाका कारण हेटौंडाको बजार क्षेत्रमा जोखिम बढ्यो
हेटौँडा बजारको मुख्य सडक विस्तारका क्रममा सडक डिभिजन कार्यालयले भत्काएका संरचनाका कारण बजार क्षेत्रमा सुरक्षा जोखिम बढेको छ ।
सडक सीमाभित्र परेका घर–टहरा भत्किँदा बनेका भग्नावशेष, आधा झरेका भवनका भाग, असरल्ल झुन्डिएका तार तथा फुटपाथमै थुप्रिएका सामग्रीले आवतजावत निकै जटिल बनेको स्थानीयले बताएका छन् ।
फुटपाथमा नै ढलेका विद्युत् पोल, झुन्डिएका बिजुली तथा इन्टरनेटका तार, सडकमा छरिएका असरल्ल तार, सडक किनारमा ढलेका अशोकका रुख र थुप्रिएका इँटा–रड तथा ढलानका टुक्राका कारण पैदलयात्रुहरू मुख्य सडकमै हिँड्न बाध्य भएका छन् ।
अस्पताललगायत अत्यावश्यक सेवातर्फ जाने मुख्य बाटो भएकाले बिरामी, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरू थप समस्यामा परेका छन् ।
यता, केही स्थानमा भत्काइएका संरचनामुनि नै व्यवसायीहरूले सेलमा सामान बेचबिखन गरिरहेका छन्, जसले दुर्घटनाको सम्भावनालाई अझ बढाएको छ । डोजर परिचालनका क्रममा कमजोर बनेका ती संरचना जुनसुकै बेला ढल्न सक्ने जोखिम रहेको छ ।
घरको अगाडिको भाग मात्र भत्काइएकाले बाँकी संरचना कमजोर बनेको अवस्थमा रहेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथअन्तर्गत बुद्धचोकदेखि सामरी पुलसम्मका सडक खण्डमा मध्यरेखादेखि २५/२५ गजभित्रका संरचना हटाउन सडक डिभिजन कार्यालयले मंसिर ५ गते १५ दिने सूचना जारी गरेको थियो ।
तोकिएको अवधि सकिँदासम्म संरचना नहटाएपछि शनिबार करिब ५ सयभन्दा बढी संरचना डोजरले भत्काइएको थियो । तर, सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ मा प्राप्त भएपछि सडक डिभिजन कार्यालयले विस्तार कार्य हाललाई स्थगित गरेको छ ।







