२५ गज सडक बिस्तार प्रभावितका लागि हेटौंडा उपमहानगरपालिकाको नौ बुँदे पुर्नस्थापना सहजीकरण कार्यक्रम
हेटौंडाको २५ गज राजमार्ग विस्तारबाट प्रभावित भएका घरधनी तथा व्यवसायीका लागि हेटौंडा उपमहानगरपालिकाले नौ बुँदे पुर्नस्थापना सहजीकरण कार्यक्रम सार्वजनिक गरेको छ ।
सडक विस्तारका कारण जग्गा पूर्णरूपमा सडक क्षेत्रमा परेर अन्यत्र आफ्नै घर–जग्गा नभएका पीडितको पुनर्बासमा सहजीकरण गर्ने निर्णय उपमहानगरपालिकाले गरेको छ । यसका लागि वडा कार्यालय मार्फत् वास्तविक पीडितको विवरण संकलन गरी आवास व्यवस्थापनमा सहजीकरण गरिने छ ।
आइतबार बसेको नगर कार्यपालिकाको ७६ औँ बैठकले सडक विस्तारपछि उत्पन्न परिस्थितिलाई व्यवस्थित गर्दै प्रभावितलाई थप सहज बनाउन विविध राहत तथा सहुलियतसम्बन्धी व्यवस्था अघि सारेको छ ।

बैठक अनुसार, घर भत्किएका घरधनीलाई सहुलियतपूर्ण ब्याजदरमा आवास निर्माण ऋण उपलब्ध गराउन नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताउनुभयो ।
त्यस्तै, विस्तारका कारण व्यवसाय बन्द भई विस्थापित भएका व्यापारीहरूको लगत संकलन गरी व्यवसाय कर छुट दिने प्रस्ताव नगरसभामा पेस गरिने उपमहानगरपालिकाले जनाएको छ । नयाँ घर बनाउने प्रभावितका लागि २ हजार वर्गफिटसम्म नक्सापास दस्तुर छुट दिनका लागि नगर सभामा पेश गर्ने निर्णय गरिएको छ ।
प्रभावितलाई समयमै घर पुनर्निर्माण सुरु गनेृ कार्यलाई सहज बनाउन ‘फास्ट ट्र्याक’ प्रक्रिया मार्फत प्राविधिक सहयोग सहित नक्सापास सेवा उपलब्ध गराइने प्रवक्ता न्यौपानेले बताउनुभयो ।

निर्माण सामग्री सुलभ मूल्यमा उपलब्ध गराउन आपूर्तिकर्तासँग समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यसैगरी, हेटौंडा हुँदै जाने त्रिभुवन राजपथलाई ‘पर्यटकीय राजमार्ग’ का रूपमा विकास गर्न संघीय सरकारलाई अनुरोध गर्ने, सडक विस्तार भएको क्षेत्रमा सहरको पहिचान झल्किने एकरूपका भवन मोडेल तयार गरी कार्यान्वयनमा लैजाने र सडक बिस्तारबाट प्रभावितहरुको व्यवसाय निरन्तरताको लागि उद्योग–वाणिज्य संघ तथा सरोकारवालाहरूसँग निरन्तर छलफल गरी बजार सेवा निरनतर गर्नका लागि सहजीकरण गर्ने निर्णय गरेको छ ।








