हेटौंडामा २५ गज सडक विस्तारको विरोधमा घरधनीहरूको प्रदर्शन

छहारी संवाददाता
मंसिर १८, २०८२

मंसिर २० गतेदेखि सुरू हुने २५/२५ गज सडक बिस्तारको विरोधमा हेटौंडाका घरधनी तथा प्रभावित व्यवसायीहरूले आन्दोलन तीव्र पारेका छन्।

बुधबार बुद्धचोकमा भेला भएका प्रभावितहरूले र्‍यालीसहित सडक डिभिजन कार्यालय अगाडि धर्ना दिइरहेका छन्।

ठूलो संख्यामा उपस्थिति जनाएका घरधनी तथा व्यवसायीहरूले “क्षतिपूर्ति व्यवस्था गर”, “सरकार न्याय दे”, “अतिक्रमणको बिल्ला मान्य छैन”, “१५ दिने सूचना खारेज गर”, “बिना मुआब्जा सडक विस्तार बिस्तार गर्न पाइदैन”, “व्यवसायीको उचित व्यवस्थापन गर” जस्ता नारा लगाएका थिए। सडक डिभिजनपछि जिल्ला प्रशासन कार्यालय र हेटौंडा उपमहानगरपालिकामा पनि धर्ना कार्यक्रम रहेको छ ।

सडक डिभिजन कार्यालय हेटौंडाले राजमार्गको केन्द्र रेखाबाट दायाँ–बायाँ २५÷२५ गज क्षेत्रमा सडक विस्तार गर्ने तयारी अघि बढाएपछि स्थानीय घरधनी आक्रोशित बनेका हुन्। सडक सीमाभित्र पर्ने संरचना हटाउन मंसिर ५ गते जारी गरिएको सूचनाविरुद्ध पिडित पक्षले प्रभावित क्षेत्रमा व्यवसाय समेत पूर्ण रूपमा बन्द गराएका छन्। राप्ती रोड, बैक रोड, पिपलबोटलगायत क्षेत्रका व्यवसाय बुधबार पनि ठप्प रहे।

उचित क्षतिपूर्तिको व्यवस्था नगरी सडक विस्तार अघि बढाउन खोजिएको भन्दै घरधनीहरूले कडा आपत्ति जनाएका छन्। “राज्यले नागरिकलाई सुकुम्बासी बनाउन पाउँदैन,” भन्दै उनीहरूले स्पष्ट मुआब्जा र व्यवस्थापनको ग्यारेन्टी बिना कुनै पनि हालतमा सडक विस्तार स्वीकार्य नहुने चेतावनी दिएका छन्। उनीहरूले माग पूरा नभएसम्म अनिश्चितकालीन व्यवसाय बन्द गर्न बाध्य हुने चेतावनी पनि दिएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*