मकवानपुरका ६४ सामुदायिक विद्यालयमा २० भन्दा कम विद्यार्थी
भौगोलिक रूपमा दुर्गम क्षेत्रमा विद्यार्थी संख्या कम हुनु सामान्य मानिए पनि आवश्यक भौतिक पूर्वाधार, सडक सुविधा, खेलमैदान तथा खाजाको व्यवस्थासहित सहज पहुँच भएका विद्यालयमै विद्यार्थी संख्या न्यून हुन थाल्नु चिन्ताको विषय बनेको छ ।
हेटौंडा उपमहानगरपालिका–१७ स्थित दिव्य ज्योति आधारभूत विद्यालय त्यसको एउटा उदाहरण बनेको छ । सडक पहुँच, खेलमैदान, खानेपानी, खाजासुविधा तथा शिक्षण सिकाइकालागि अनुकूल वातावरण रहे पनि विद्यालयमा विद्यार्थी संख्या घट्दो क्रममा रहेको विद्यालयकी प्रधानाध्यापक प्रमिला घिमिरेले बताउनुभयो ।
हाल विद्यालयमा ४५ जना विद्यार्थी अध्ययनरत छन् । जसमा आधाभन्दा बढी विद्यार्थी तराईका विभिन्न जिल्लाबाट आएका हुन् । चाडपर्व तथा विवाह उत्सवका समयमा धेरैजसो विद्यार्थी अनुपस्थित हुने गरेका कारण नियमित कक्षा सञ्चालनमा असर पर्न गएको विद्यालयले जनाएको छ ।

विद्यार्थी अभावकै कारण विद्यालयले कक्षा ३ र ४ सञ्चालन गर्न सकेको छैन । कक्षा ८ सम्म सञ्चालन हुँदै आएको विद्यालयमा अहिले विद्यार्थीृ अभावका कारण कक्षा ५ सम्म मात्र पढाइ हुने गरेको छ । विद्यार्थी आकर्षित गर्ने उद्देश्यले सञ्चालन गरिएको यातायात सेवा सेमत अपेक्षाअनुसार प्रभावकारी नभएपछि तीन वर्षमै बन्द गरिएको प्रधानाध्यापक घिमिरेले जानकारी दिनुभयो ।
शैक्षिक गुणस्तर सुधार र स्रोत–साधनको उचित व्यवस्थापनका लागि विद्यार्थी संख्या कम भएका सामुदायिक विद्यालयहरू समायोजन (मर्ज) गर्ने कार्य स्थानीय तहले तीव्र बनाइरहेका छन् । विद्यालय समायोजन तथा सहजिकरण कार्यक्रम कार्यविधि–२०७७ र स्थानीय सरकार सञ्चालन ऐन–२०७४ ले दिएको अधिकारका आधारमा स्थानीय तहले विद्यार्थी संख्या, भौगोलिक दूरी र शिक्षक–विद्यार्थी अनुपातलाई मुख्य मानक बनाएर विद्यालय गाभ्ने कार्य गर्दै आएका छन् ।
गत आर्थिक वर्षदेखि चालू वर्षसम्म मकवानपुरका १० स्थानीय तहमध्ये ७ वटा स्थानीय तहमा १५ वटा विद्यालय मर्ज भइसकेका छन् । हेटौंडा–१६ स्थित त्रिभुवन मावि जनप्रिय माविमा समायोजन गरिएको छ ।
थाहा नगरपालिकामा रहेको गणेश प्रावि बज्रवाराही माविमा मर्ज गरिएको छ । त्यस्तै, मकवानपुरगढी गाउँपालिकाका ३, कैलाश गाउँपालिकाका ५,इन्द्रसरोवर गाउँपालिकाको १, राक्सिराङ गाउँपालिकाका २ विद्यालय समायोजन गरिएको छ । यसैगरी, बकैया गाउँपालिकाका २ विद्यालय कक्षा घटुवा गरिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ ।
इकाईकी सूचना अधिकारी उन्नती ढकालका अनुसार जिल्लाभर २० भन्दा कम विद्यार्थी रहेका विद्यालय ६४ वटा रहेका छन् । हेटौंडा उपमहानगरपालिका भित्रका ९ वटा आधारभूत विधालयमा ५० भन्दा कम बिद्यार्थी रहेका छ्न ।
जिल्लाभर सयभन्दा कम विद्यार्थी भएका विद्यालयको संख्या २ सय ७४ रहेको सूचनाधिकारी ढकालले जानकारी दिनुभयो ।
मकवानपुरका ८२९ सामुदायिक विद्यालयमा हाल ७८ हजार ३८ जना विद्यार्थी अध्ययनरत छन् । दरबन्दी तथा राहतसहित ३ हजार ३ सय ३८ जना शिक्षक कार्यरत रहेका छन् ।
सार्वजनिक विद्यालय समायोजन एवं एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७ मा विद्यालय आवातजावत गर्न लाग्ने समय, विद्यार्थी संख्या, जनसंख्या, विद्यालयको स्तर वृद्धि, माध्यामिक तहमा ठूला विद्यालय सञ्चालन, आवासिय विद्यालय सञ्चालन, नमूना विद्यालय विकास, विद्यालय नक्शाकंनका आधारमा विद्यालय समायोजन एवं एकीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।







