सडक बिस्तारको क्रममा हेटौंडाका ५ सय ३१ वटा घरटहरा भत्काउनुपर्ने
हेटौंडामा मंसिर २० गतेदेखि हुने सडक बिस्तारको क्रममा ५ सय ३१ वटा घर, टहरा तथा अन्य संरचना भत्काउनुपर्ने सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै सडकको केन्द्रबिन्दुबाट २५/२५ गजभित्र सडकको दायाँतर्फ २ सय ३४ वटा र बायाँतर्फ २ सय ९७ वटा घर, टहरा र संरचना भत्काउनुपर्ने देखिएको डिभिजन प्रमुख गुरु प्रसाद अधिकारीले जानकारी दिनुभएको छ । महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ गरी दुई वटा राजमार्गको ९ दशमलव ५ किलोमिटर सडक विस्तार हुनेछ ।
महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्तिपुलसम्म ६ दशमलव ३ किमि र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म ३ दशमलव २ किमि सडक विस्तार गर्नुपर्ने कार्यालयले जनाएको छ । २० देखि २५ दिनभित्रमा सडक विस्तार कार्य सक्ने लक्ष्य लिएको प्रमुख अधिकारीले बताउनुभयो ।
सडक सिमा क्षेत्रमा बनेका संरचना हटाउनका लागि मंसिर ५ गते १५ दिने सूचना जारी भएको छ । हालसम्म चार पटकसम्म सूचना प्रकाशित भएको छ । सार्वजनिक सडक ऐन २०३१ बमोजिम राष्टिय राजमागृहरुको सीमा संरक्षण गर्नु दायित्व भएको बताइएको छ ।
सडक सीमा क्षेत्रमा निर्मित घर, संरचनाका धनीहरूबाट ३ सय ४३ वटा मुद्दा दायर गरेका थिए । २०८० पौष १७ गते सर्वोच्च अदालतबाट उजुरी सम्बन्धी रिट खारेज भएको छ । १० असार २०८० मा प्रकाशित सडक विस्तार सम्बन्धी सूचना उपर दायर रिट १७ पुसमा सर्वोच्च अदालतले खारेज गरेको थियो ।
फैसलाको आदेश खण्डमा ‘तत्कालीन राजमार्ग व्यवस्था ऐन, २०२१ बामोजिम मिति २०२१/११/११ मा प्रकाशित सूचना बमोजिमको राजमार्गको क्षेत्र घोषित सडकको केन्द्रबाट दायाँ बायाँ २५/२५ गजसम्मको जग्गाको हकमा सो ऐनको दफा ५ को प्रतिबन्धात्मक वाक्यांशको अवस्था छ भनि निवेदकले प्रमाणित गर्न सकेको अवस्था बाहेक क्षतिपूर्ति पाउने अवस्था हुँदैन,’ भनिएको छ । तसर्थ, सडक केन्द्रबिन्दुबाट दायाँ बायाँ २५÷२५ गजको हकमा क्षतिपूर्ति वा मुआब्जा दिनु नपर्ने स्पष्ट व्यवस्था रहेको छ ।
निवेदकले जानीजानी सडक क्षेत्र अतिक्रमण गरी घरटहरासमेतको संरचना निर्माण गरी उपभोग गरेको आधारमा सडक क्षेत्रमा निवेदकको अधिकार सिर्जना हुन नसक्ने हुँदा अतिक्रमित क्षेत्रबाट हटाउँदा निवेदकको सम्पत्तिको हक, आवासको हकसमेतको संविधानको धारा २५ र ३७ द्वारा प्रदत्त संवैधानिक हकमा प्रतिकूल असर पर्छ भन्न नमिल्ने’ उल्लेख रहेको छ ।






