हेटौंडामा एक घन्टा औषधि पसल बन्द
औषधि व्यवसायीहरूले संघीय सरकारले गरेको औषधि ऐन–२०३५ को संशोधनमाथि आपत्ति जनाउँदै आन्दोलन सुरु गरेका छन् ।
नवीकरणमा ढिलाई हुँदा शतप्रतिशत जरिवाना र ३१ दिनपछि दर्ता नै खारेज हुने व्यवस्था लागू गरिएकोप्रति व्यवसायीहरूले असहमति जनाएका छन् । आन्दोलनको कार्यक्रम अन्तर्गत, आइतबार हेटौंडाका औषधि व्यवसायीहरूले पनि बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टाका लागि पसल बन्द गरी विरोध जनाएका थिए ।
हेटौंडा–१, राप्तीरोडस्थित औषधि व्यवसायी संघ मकवानपुरको कार्यालय परिसरमा भेला भएर व्यवसायीहरूले ¥यालीसमेत निकालेका थिए । रयाली राप्तीरोड, भिन्तुनापथ हुँदै पुनः कार्यालयमा नै पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै औषधि व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठले व्यवसायीहरूमाथिे अन्याय हुने व्यवस्था खारेज गर्न माग गर्नुभयो ।
विवादित उपदफा खारेज नभएसम्म आन्दोलनलाई थप कडा बनाउँदै लैजाने चेतावनी औषधि व्यवसायी संघले दिएको छ । धर्ना कार्यक्रम सोमबार र मंगलबार पनि जारी रहने बताइएको छ । दैनिक एक–एक घण्टा थप गर्दै दबाबमूलक आन्दोलनलाई निरन्तरता दिने संघ मकवानपुरका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।
उहाँले सबै व्यवसायीको हक–हितका लागि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताउनुभयो । उक्त उपदफा अनुसार व्यावसाय नवीकरण नगराएमा उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र वा प्रमाणपत्र स्वतः रद्द हुने प्रावधान रहेको छ ।






