हेटौंडामा मंसिर २० गतेदेखि हुने सडक विस्तारका लागि २० वटा हेभी इक्युप्मेन्ट तयारी अवस्थामा
सडक विस्तारका लागि आवश्यक सबै हेभी इक्युप्मेन्टहरू तयारी अवस्थामा राखिएको छ ।
सडक विस्तारका क्रममा डोजरसहित २० वटा हेभी मेसिन परिचालन गर्न लागिएको छ । पहिलो चरणमै २० वटा डोजर प्रयोग गरिने र आवश्यकता अनुसार जनकपुर र काठमाडौंबाट थप उपकरण ल्याइने सडक डिभिजन कार्यालयले जनाएको छ ।
हेभी इक्युप्मेन्ट डिभिजन हेटौंडाका सुचना अधिकारी वरुण कुमार शाहका अनुसार जनकपुरबाट दुईवटा र काठमाडौंबाट चारवटा ह्वील–एक्साभेटर थप रूपमा ल्याउने तयारी गरिएको छ । पिच रोडको क्षति न्यून बनाउन ह्वील भएको एक्साभेटर प्रयोग गर्न लागिएको हो ।
लामो बुम हुने उपकरणमार्फत ३ देखि ४ तलासम्मका संरचना सहजै भत्काउन सकिने शाहले बताउनुभयो । सडक विस्तारको कार्यलाई सुचारु बनाउन २० जना अपरेटर र ५ जना मेकानिक समेत तयारी अवस्थामा राखिएका छन् ।

सडक डिभिजन कार्यालयले मंसिर ५ गते सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा बुद्धचोकदेखि सामरी पुलसम्म सडकको मध्य भागबाट दायाँ–बायाँ २५/२५ गजभित्र पर्ने स्थायी–अस्थायी घर, टहरासहित सबै संरचना हटाउन आग्रह गरेको छ ।






