हेटौंडाका २५ गज प्रभावित व्यवसायीले कम मूल्यमा सामान बिक्री गर्न थाले

छहारी संवाददाता
मंसिर १४, २०८२

मंसिर २० गतेदेखि हेटौंडामा सडक विस्तार सुरु हुने भएपछि प्रभावित क्षेत्रमा पर्ने व्यवसायीहरूले आफ्ना सामग्री कम मूल्यमा बिक्री गर्न थालेका छन् ।

विशेषगरी फर्निचर व्यवसायीहरूले दराज, पलङ, सोफा, कुर्सी लगायतका फर्निचर सामानहरू सस्तो मूल्यमा बिक्री गर्दा ग्राहकको भीड बढेको छ । बिहीबारदेखि सुरु गरिएको सेलमा दुई दिनमै करिब ८० प्रतिशत सामग्री बिक्री भएको व्यवसायीहरूले बताएका छन् ।

मंसिर महिना विवाहको सिजन पनि भएकाले सामान किन्नेको संख्या बढेको व्यवसायीहरूको अनुमान छ ।  सडक विस्तारमा पर्ने संरचना भत्किने लगभग पक्का भएपछि सामान बेचेर पसल खाली गर्नुबाहेक विकल्प नदेखिएको व्यवसायीहरूले बताएका छन् ।

उपमहानगरपालिकाले वैकल्पिक स्थान तोकेको भए सरसामान सारेर व्यवसाय निरन्तर गर्न सकिने भएपनि सूचना समाप्त हुन लाग्दा पनि खासै पहलकदमी नदेखिएपछि सेलमा बिक्री गर्नुपरेको फर्निचर व्यवसायीहरूको भनाइ छ ।

फर्निचर व्यवसायीका साथै चस्मा, जुत्ता तथा अन्य व्यवसायहरूले पनि सेल सुरु गरेका छन् । त्यस्तै, राप्तीरोड क्षेत्रका व्यापारीले पनि आफ्ना वस्तुहरू सस्तोमा बेच्न थालेका छन् । समयमै सामान बेच्न पाए घाटा कम हुने, अर्को उपयुक्त स्थानको अभाव लगायतका कारणले सस्तोमा सामान बेच्न बाध्य भएको व्यवसायीले बताएका छन् ।

लगानीभन्दा कम मूल्यमा सामान बेचेर सडक विस्तारमा राज्यलाई सहयोग गरेको तर राज्यले भने उचित व्यवस्थापन तर्फ ध्यान नदिएकोमा व्यवसायीहरू रुष्ट बनेका छन् । सडक बिस्तार क्षेत्रमा १५ सय भन्दा बढी व्यापार व्यवसाय सञ्चालनमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*