हेटौंडामा सडक विस्तारका लागि रेखांकन कार्य सुरु
लामो समयदेखि सूचना प्रकाशनमा मात्र सीमित हुँदै आएको हेटौंडाको सडक विस्तार कार्य यसपटक भने अघि बढ्ने भएको छ ।
सडक बिस्तार कार्यलाई अगाडी बढाउनका लागि बुधबार गठन गरिएको विशेष टास्क टिमले कार्य प्रारम्भ गरेको छ । टास्क फोर्सले बुधबारबाटै माइकिङसहित प्रारम्भिक कार्य सुरु गरिसकेको छ । यसका साथै सडक अतिक्रमण गरी निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना हटाउन बिहीबारबाट रेखांकन र रङ लगाउने काम सुरु गरेको छ ।
टास्क टिमले हेटौँडा उपमहानगरपालिका– १५, रातोमाटेबाट रोखांकन कार्य सुरु गरेको हो । यसअघि सडक डिभिजन कार्यालय हेटौँडाले मंसिर ५ गते जारी गरेको १५ दिने सूचना यही मंसिर १९ गते सकिँदै छ । सो अवधि भित्र संरचना नहटाए मंसिर २० गते बिहानैदेखि डोजर परिचालन गरी सडक विस्तार अघि बढाइने डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख गुरु प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार चार विभिन्न स्थानबाट एकैपटक डोजर चलाइने तयारी रहेको छ । सडक विस्तारलाई व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले विशेष ‘टास्क फोर्स’ गठन गरेको थियो । सडक डिभिजन कार्यालयका इन्जिनियर यादव सुवेदी संयोजक रहेको उक्त समितिमा हेटौँडा
उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरणलगायतका प्रतिनिधिहरू समावेश छन् । टास्क फोर्सको कार्यालय सडक डिभिजन कार्यालयमै राखिएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले सडक विस्तारका क्रममा विद्युत्, खानेपानी, टेलिफोनलगायत अत्यावश्यक सेवामा अवरोध नआओस् भनेर सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको बताउनुभयो ।
हेटौंडा प्रदेश राजधानी भएकाले सुन्दर, सुरक्षित र व्यवस्थित सहरका रूपमा विकास गर्न सडक विस्तार अपरिहार्य रहेको बताउँदै उहाँले एसियाली विकास बैंक (एडिबी)बाट आवश्यक बजेट सुनिश्चित भइसकेकाले यसपटक काम रोकिने कुनै अवस्था नरहेको स्पष्ट पार्नभयो ।
सडक विस्तारलाई सुचारु बनाउन बाइपास तयारी
सडक विस्तार कार्य सहज बनाउन हेटौंडामा वैकल्पिक बाइपास मार्ग निर्माण तथा मर्मत कार्य तीव्र गरिएको छ ।
डिभिजन सडक कार्यालयका प्राविधिकसँगै प्रमुख जिल्ला अधिकारी अधिकारीले चौकीटोलदेखि रातोमाटेसम्मको बाइपास सडकको अवस्था निरीक्षण गर्नुभएको छ । मुख्य बजार क्षेत्रमा सडक विस्तारका कारण सवारी सञ्चालनमा अवरोध हुने भएकाले मंसिर २० गतेदेखि बजार क्षेत्रमा सवारी आवागमन रोक्ने तयारी गरिएको छ ।
वैकल्पिक मार्गका रूपमा काठमाडौं–भैँसेबाट आउने सवारी चौकीटोल हुँदै राप्ती उकास क्षेत्र र त्रिवेणीधाम हुँदै रातोमाटेतर्फ, पूर्व–पश्चिम राजमार्गबाट पूर्व जाने सवारी राप्ती किनार हुँदै रातोमाटे तर्फ, मदन भण्डारी लोकमार्ग तथा कान्तिलोकपथबाट आउने सवारी कमाने हुँदै रातोमाटे निकाल्ने व्यवस्था मिलाइँदैछ ।
सर्वोच्च अदालतको फैसलाले सडक विस्तारका लागि कानुनी मार्ग खुला गरिदिएकाले यसपटक सूचना मात्र नभई लागू कार्यान्वयन हुँदै सडक विस्तार अनिवार्यरूपमा सुरु हुने जनाइएको छ ।
हेटौंडाको सडक विस्तार क्षेत्रमा हाल ५ सय ३० भन्दा बढी घर–टहरा पर्ने सडक डिभिजन कार्यालयले जनाएको छ ।
मंसिर ५ गते जारी सार्वजनिक सूचनामार्फत रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा बुद्धचोकदेखि सामरी पुलसम्म सडकको मध्यभागबाट दायाँ–बायाँ २५–२५ गज क्षेत्रभित्र पर्ने संरचना १५ दिनभित्र हटाउन आग्रह गरिएको छ ।






