सफ्टी हाईजिन प्रा.लि. सबैभन्दा बढी आयकर तिर्ने करदाता

छहारी संवाददाता
मंसिर २, २०८२

आन्तरिक राजश्व कार्यालय मकवानपुरले सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सफ्टी हाईजिन प्रा.लिलाई सम्मान गरेको छ ।

आन्तरिक राजश्व विभागको एकीकृत कर प्रणाली अनुसार गत आर्थिक वर्षमा आयकर तर्फ सर्वाधिक कर दाखिला गरेको आधारमा कम्पनीलाई १४औँ राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले कम्पनीका सञ्चालकहरू यादव घिमिरे, सुवास भण्डारी र विजय पौडेललाई सम्मानपत्र प्रदान गर्नुभयो ।

कम्पनीले स्थापनाको १० वर्षमै उत्कृष्ट करदाताको पहिचान बनाउन सफल भएको हो ।  कम्पनीले टिस्यू, न्याप्किन लगायतका सामग्री उत्पादन गर्दै आएको छ । त्यस्तै, सबै भन्दा बढी अन्तःशुल्क राजस्व दाखिला गर्ने करदाता गोर्खा लाहरी प्रा.लिलाई पनि सम्मान गरिएको छ ।

साथै कार्यालयलाई सहयोग पु¥याउने मकवानपुर उद्योग वाणिज्य संघ, थाहा उद्योग वाणिज्य संघ, अडिटर्स एसोसिएसन, कर सहयोगी श्रमिक संगठनलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले करसँग सम्बन्धित सबै पक्षलाई यस दिवसले समेट्नुपर्नेमा जोड दिनुभयो । हिजोभन्दा आज कर प्रणाली सहज र स्मार्ट बन्दै गएको उल्लेख गर्दै उहाँले यातायात, मालपोत, स्थानीय तह र नापी लगायतका निकायहरूमा पनि व्यवस्थित कर प्रणाली हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

फरक प्रसंगमा प्रमुख जिल्ला अधिकारी अधिकारीले हेटौंडालाई बुटिक सिटी बनाउन आवश्यक व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।  प्रदेश राजधानी हेटौंडामा यातायात व्यवस्थापन चुनौतीपूर्ण भएकाले राजमार्गमा सवारी पार्किङ रोक्ने कानूनलाई कडाइका साथ कार्यान्वयन गरिने जानकारी दिनुभयो ।

यस सम्बन्धमा मंगलबार जिल्ला प्रशासन कार्यालयमा सरोकारवालासँग छलफल गरिने र सबै चारवटा राष्ट्रिय राजमार्गमा पार्किङ निषेध गर्ने डेडलाइन तोक्ने योजना रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले विकास–निर्माण करमै निर्भर हुने उल्लेख गर्दै कर तिर्ने वातावरण उत्साहित बनाउनुपर्ने धारणा राख्नुभयो ।  निजी क्षेत्रले कर तथा रोजगार सृजनामा गरेको योगदानको प्रशंसा गर्दै उहाँले नीतिगत प्रोत्साहन आवश्यक रहेको बताउनुभयो । उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्माले पारदर्शी रूपमा कर तिर्ने करदातालाई सरकारले विशेष सम्मान तथा सुविधा प्रदान गर्नुपर्ने बताउनुभयो ।

आन्तरिक राजश्व कार्यालय मकवानपुरका प्रमुख युक्त प्रसाद सुवेदीले करसम्बन्धी परिवर्तन भएका कानुनहरूको जानकारी सहज रूपमा करदातासमक्ष पु¥याउने तथा कर प्रशासन र करदाताबीचको दूरी हटाउने उद्देश्यले कर दिवस मनाइँदै आएको बताउनुभयो ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ, थाहा उद्योग वाणिज्य संघ, उद्योग संघ मकवानपुर, विभिन्न वस्तुगत संघका पदाधिकारी एवम् प्रतिनिधिको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*