गणतन्त्र जस्तो सुन्दर व्यवस्था दुनियाँमा अरु छैनः मुख्यमन्त्री बानियाँ
बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्र नै उत्तम व्यवस्था भएको बताउनु भएको छ ।
प्रदेश सरकारले आईतवार आयोजना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रः चुनौती र अवसर अन्तरसंवाद कार्यक्रममा मुख्यमन्त्री बानियाँले गणतन्त्र गरिब जनताको छोरो पनि राष्ट्र प्रमुख बन्न पाउने व्यवस्था भएको बताउनु भयो । व्यक्ति बदल्न पाउने, दल बदल्न पाउने, मन लागेको पार्टीलाई भोट हाल्न पाउने, मन लागेको उम्मेद्वारलाई भोट हाल्न पाउने यो भन्दा सुन्दर व्यस्वथा यो दुनियाँमा अरु नभएको उहाँको भनाई छ ।
संविधानमा भएको केही व्यवस्थाका कारण अस्थिरता भने आईरहेको उहाँले बताउनु भयो । त्यसलाई सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अस्थिर र बढ्दो भ्रष्टाचारका कारण भदौ २२ र २३ गते अकल्पनीय जेन–जी विद्रोहको सामाना गर्नुपरेको मुख्यमन्त्री बानियाँको भनाई छ ।
मुख्यमन्त्री बानियाँले सोचेअनुसारको मुलुक नबनेकोप्रति सबै चिन्तित बनेको उल्लेख गर्नुभयो । लामो समयदेखि उस्तै नेतृत्व र अनुहारले देश चलाउँदा परिवर्तन नभएको उहाँको भनाई छ ।
देशको परिवर्तन भएको भए नेतृत्व उही भएनी केही फरक नपर्ने उहाँले बताउनु भयो । उहाँले जेन–जी आन्दोलनले नयाँ सरकार बनेकोले सर्वपक्षिय संवादमार्फत निर्वाचन सफल गराउनुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री बानियाँले आगामी निर्वाचनमा सहभागी हुन जेन–जी पुस्तालाई पनि आग्रह गर्नुभयो । बागमती प्रदेशले बनाउने नीतिमा जेन–जी पुस्तालाई समेट्दै आर्थिक अनुशासनमा समेत ख्याल राख्ने उहाँले जानकारी दिनुभयो ।





