बसाइँसराइले खाली भएका घरमा आर्कषक होमस्टे(फोटो फिचर)

मकवानपुरको भीमफेदी गाउँपालिका सुपिङमा एक युवाले सुनसान गाउँलाई नयाँ जीवन दिनुभएको छ  ।
छहारी संवाददाता
कार्तिक २७, २०८२

अधिकांश युवा जनशक्ति पछिल्ला वर्षहरूमा रोजगारीको खोजीमा विदेशिन गरेका छन् ।

गाउँका घरहरू सुनसान हुँदै गएका छन् । तर मकवानपुरको भीमफेदी गाउँपालिकामा एक युवाले भने यिनै सुनसान गाउँमा नयाँ जीवन भर्नुभएको छ  । बसाइँसराइले खाली भएका घरहरूलाई पुनः चहलपहलमय बनाउँदै गाउँमै व्यवसायिक पर्यटनको नयाँ सम्भावना उजागर गर्नुभएको छ ।

थाहा नगरपालिकाका स्थायी घर भएका १९ वर्षीय प्रतीक नेपालले होमस्टे सञ्चालन गरेर देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्नुभएको हो ।

मकवानपुरको भीमफेदी गाउँपालिका ५ सुपिङ गाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ ।

चारैतिर डाँडाकाँडा, हरियाली, चिसो हावापनी र मौलिक जीवनशैली छ । तर पछिल्ला वर्षहरूमा बसाइँसराइका कारण गाउँ प्रायः सुनसान बन्दै गइरहेको थियो । अधिकांश घरहरूमा ताला लगाइएका थिए ।

खेतबारी बाँझा थिए, गाउँ सुनसान थियो । त्यही गाउँमा घुमफिरका क्रममा पुगेका प्रतीकले सम्भावना देख्नुभयो । गाउँको मौलिकता, र प्राकृतिक सुन्दरता नै पर्यटनको आकर्षण बन्न सक्छ भन्ने विश्वास उहाँभित्र जाग्यो । त्यसपछि उहाँले बसाइँ सरेर गएकासँग सम्पर्क गरेर खाली घरहरू प्रयोग गर्न अनुमति माग्नुभयो ।

गाउँ फर्कन नचाहेका घरधनीहरूले पनि आफ्नो घरको हेरचाह हुने र केही आम्दानी हुने भएपछि खुशीसाथ सहयोग गरे । प्रतीकले ती पुराना घरहरूको मर्मत गरेर सुन्दर होमस्टेमा रूपान्तरण गर्नुभयो । १० रोपनी जग्गा भाडामा लिएर ४० देखि ५० जनासम्म अतिथि अटाउन सक्ने होमस्टे सञ्चालनमा ल्याइएको छ ।

पहिले सिस्नो र घाँसले घेरिएको घर वरपर अहिले फलफूलका विरुवा लगाइएको छ । लोप हुन लागेका बुईकल सहितका घरहरुको भित्तामा सेतो कमेरो र रातो माटोले लिपिएको छ । ढुंगेधारोको शैलीमा बनेका पानीका धारा, पुराना सन्दुक, ठेकी, जाँतो, हलो जस्ता परम्परागत सामग्रीले होमस्टेलाई मौलिक रुप दिएको छ ।

रित्तो बस्ती अहिले आकर्षक होमस्टेमा परिणत भएको छ । होमस्टेमा प्रयोग हुने सागसब्जी, गुन्द्रुक, दाल, अन्न आदि सबै स्थानीय उत्पादन नै प्रयोग गरिन्छ । यसले गाउँका किसानहरूलाई पनि प्रत्यक्ष लाभ पुगेको छ । होमस्टेमा स्थानीयले रोजगारी समेत पाएका छन् ।

धेरै अभिभावकले विदेश पठाउन ऋण लिने बेला प्रतिकका बुबा भने गाउँमै सम्भावना खोज्ने छोराको समर्थनमा उभिनुभयो । चित्लाङमा पर्यटन व्यवासाय सञ्चालन गरिरहनु भएका प्रतिकका बुबा देवेन्द्र नेपालले आफैमा सुन्दर सु्पिङलाई नजिकबाट नियाल्न सकिने सकिने गरि होम स्टे सञ्चालनमा ल्याइएको बताउनुभयो ।

सुपिङबाट मनमोहक अस्ताउँदो सूर्यको दृश्य देख्न सकिन्छ ।

यसका साथै प्राचिन भीमफेदी बजार, गुप्तेश्वर गुफा, गुम्बा, चिसापनी गढी र हात्तिसार जस्ता ऐतिहासिक महत्व बोकोकेका पर्यटकीय स्थल नजिकै भएकाले सुपिङ घुम्न चितवन, वीरगञ्ज, हेटौंडा र काठमाडौंबाट पर्यटकहरू आउने क्रम बढ्दो छ ।

देशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिन चाहने प्रतिकले मौलिकता र प्राकृतिक सुन्दरतालाई पर्यटन क्षेत्रको मुख्य आकर्षण बनाउनुभएको छ ।  सुपिङमा प्रतीकले सुरु गरेको यो होमस्टेले अहिले गाउँको स्वरूप मात्र बदलेको छैन, वर्षौदेखि सुनसान बस्ती पुनः चहलपहलमय बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*