स्थानीय युवाहरुको निरन्तर दबाबपछि थाहा बसपार्क सञ्चालन
स्थानीय युवाहरुको निरन्तरको दबाबपछि मकवानपुरको थाहा नगरपालिकामा थाहा बसपार्क सञ्चालनमा आएको छ ।
थाहा नगरपालिका–४ नार्खुढाँडमा निर्माणाधीन बसपार्क बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । शिखरकोट बजार क्षेत्रको मुख्य सडकमार्गमै सवारी साधन सञ्चालन हुँदा बढ्दै गएको दुर्घटनाको जोखिम, पार्किङको समस्या र अव्यवस्थित यातायात व्यवस्थापनका कारण स्थानीय युवाहरूले लामो समयदेखि दवाब दिइरहेका थिए ।
अन्ततः सोही दवाब र निरन्तर पहलपछि थाहा नगरपालिकाले बसपार्क सञ्चालनमा ल्याएको हो ।
एक औपचारिक समारोहका बीच थाहा नगरपालिकाका प्रमुख विष्णु बिष्टले बसपार्कबाट सेवा शुभारम्भ गर्दै बसपार्क सञ्चालनको सुरुवात गर्नुभएको हो ।

प्रमुख बिष्टले बसपार्क सञ्चालन कार्यविधिअनुसार गरिएको बताउँदै यस कार्यमा स्थानीय युवाहरूको योगदान उल्लेखनीय रहेको बताउनुभयो । विगतमा ठेकेदारको ढिलासुस्तीको कारण समयमै काम सम्पन्न नभएपनि अब भौतिक संरचना निर्माणको लागि संघीय सरकारलाई दबाब दिने समेत उहाँले बताउनुभयो ।
यसैगरी उपप्रमुख भरत गोपालीले बसपार्क सञ्चालन नगरकै गौरवको विषय भएको उल्लेख गर्दै यससँगै नयाँ चुनौतीहरू पनि थपिएको बताउनुभयो । यातायात व्यवसायी, स्थानीय समुदाय र निजी क्षेत्रसँग सहकार्य गरेर समाधानतर्फ अघि बढ्ने पनि उहाँले बताउनुभयो ।
थाहा नगरपालिका कार्यपालिकाको बैठकले स्वीकृत गरेको ‘थाहा नगर बसपार्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८०’ का आधारमा बसपार्क सञ्चालन गरिएको हो । थाहा बसपार्क सञ्चालनसँगै थाहा नगरको यातायात व्यवस्थापनमा नयाँ अध्याय सुरु भएको छ । यसले नगर क्षेत्रमा सवारी पार्किङ, यात्रु सुविधा, र बजार व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ । थानाबजार नजिकै रहेको करिब ४८ रोपनी क्षेत्रफलमा निर्माणाधीन बसपार्कलाई नगरको गौरवको आयोजना मानिएको छ ।
करिब ३० लाख रुपैयाँको प्रारम्भिक लगानीबाट सुरु गरिएको यो आयोजना अहिले बहु–संरचना समेटिएको आधुनिक बसपार्कका रूपमा अगाडि बढाइने योजना छ ।







