मंगलबारदेखी जेसिज सप्ताह २०२५ सुरु हुँदै

छहारी संवाददाता
कार्तिक १७, २०८२

विगत वर्षहरूको झैँ यस वर्ष पनि हेटौंडा जेसीजले जेसिज सप्ताहको अवसरमा विविध कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

मंगलबारदेखि सुरु हुने वर्ष २०२५ को जेसिज सप्ताहमा रक्तदानदेखि खाद्यान्न वितरणसम्मका कार्यक्रम तय गरिएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा हेटौंडा जेसीजका अध्यक्ष पंकज दास बानियाँले कात्तिक १८ गतेदेखि २२ गतेसम्म आयोजना हुने विभिन्न कार्यक्रमका बारेमा जानकारी दिनुभयो ।

सप्ताहको पहिलो दिन, कात्तिक १८ गते बिहान ७ बजे हुप्रचौरमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ । सोही दिन बिहान ८ः३० बजे स्लो बाइट प्रतियोगिता पनि आयोजना हुने अध्यक्ष दासले जानकारी दिनुभयो ।

कात्तिक १९ गते बिहान ७ बजे अन्तर–जेसिज वक्तृत्वकला प्रतियोगिता हुने छ भने दिउँसो दुई बजे भूटनदेवी माध्यमिक विद्यालयमा साइबर सचेतना कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

त्यस्तै, कात्तिक २० गते विद्यालयस्तरीय हाजिरी–जवाफ प्रतियोगिता जेसिज सचिवालयमा आयोजना हुने छ । जसमा कक्षा १० सम्मका विद्यार्थीहरूले सहभागिता जनाउनेछन् ।
कात्तिक २१ गते मकवानपुरगढी–६, गुरदाङमा अति विपन्न एक परिवारलाई खाद्यान्न र लत्ताकपडा वितरण गर्ने कार्यक्रम तय गरिएको छ ।

सप्ताहको अन्तिम दिन, कात्तिक २२ गते समापन कार्यक्रम आयोजना हुनेछ । सो अवसरमा उत्कृष्ट सदस्य तथा उत्कृष्ट कार्यक्रम संयोजकलाई अवार्ड वितरण गरिने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*