अफवाह चिर्दै सत्य समाचार जनतामाझ पस्कनुपर्नेमा मकवानपुरका पत्रकारको जोड

छहारी संवाददाता
कार्तिक १५, २०८२

पछिल्लो समय सामाजिक सञ्जालमा फैलिरहेका भ्रामक सूचनालाई चिर्दै जिम्मेवारीपूर्वक सत्य–तथ्यमा आधारित समाचार लेखन कसरी गर्ने भन्ने विषयमा हेटौंडामा अन्तरक्रिया गरिएको छ ।

जनपत्र मिडिया प्रालिको आयोजनामा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सभाहलमा शुक्रबार भएको कार्यक्रममा पत्रकारितामा बढ्दो चुनौती, तथ्य पुष्टि र विश्वसनीयताका विषयमा विस्तृत छलफल गरिएको थियो । नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्र प्रस्तुत गर्दै पछिल्ला वर्षमा सामाजिक सञ्जालको प्रभावले मिडियाको विश्वसनीयता घट्दै गएको बताउनुभयो । अधिकारीले अभिव्यक्तिको स्वतन्त्रता प्रयोग गर्दा सही सूचना र तथ्य परीक्षणको जिम्मेवारी पत्रकारकै हुने भन्दै पत्रकारितामा नैतिकता र उत्तरदायित्व आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेश सभाका प्रवक्ता मनोजकुमार गुप्ताले संघीय शासन प्रणालीको मुख्य आधार प्रदेश भएको बताउँदै प्रदेश सभाले संविधानले दिएको अधिकारका दायराभित्र रही कानुन निर्माणमा सक्रिय हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले ओमप्रकाश थपलिया नेतृत्वको कानुन अध्ययन समितिले प्रदेश सञ्चालनका लागि पहिचान गरेको ८२ मूल कानुनमध्ये हालसम्म ५० वटा मात्रै निर्माण भएको जानकारी दिनुभयो ।

गुप्ताका अनुसार पहिलो कार्यकालमा ४३ वटा मूल कानुन सहित ७० कानून बनेका थिए भने दोस्रो कार्यकालमा हालसम्म ७ वटा मूल कानुनसहित जम्मा २४ वटा कानुन निर्माण भएका छन् । उहाँले संविधानले दिएको अधिकारको प्रयोगमा प्रदेश सरकार र प्रदेश सभामा दुबै तहमा कमजोरी रहेको बताउँदै बागमती प्रदेश कानुन निर्माणका दृष्टिले अन्य प्रदेशभन्दा अगाडि रहेको बताउनुभयो ।
कार्यक्रममा अग्रज पत्रकार प्रताप विष्ट, रामकुमार एलन, स्वतन्त्र पत्रकार संघका महासचिव सुरेश श्रेष्ठलगायतले आफ्ना धारणा राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*