यातायात क्षेत्र सुधारका लागि उच्चस्तरीय समिति गठन गर्ने बागमती प्रदेश सरकारको निर्णय

छहारी संवाददाता
कार्तिक १५, २०८२

बागमती प्रदेश सरकारले यातायात क्षेत्रको पुनरावलोकन र सुधारका लागि उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रम, रोजगार तथा यातायात मन्त्रालयको प्रस्तावमा बागमती प्रदेश यातायात क्षेत्र पुनरावलोकन तथा सुधार उच्चस्तरीय समिति कार्य क्षेत्रगत सर्त स्विकृति एवम् समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले संघीय सरकार मातहत रहेका प्रहरी संगठन र मालपोत कार्यालयलाई खर्च उपलब्ध गराउन समेत अख्तियारी प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताउनुभयो ।

प्रहरी संगठनका सवारीसाधन र भवन मर्मतका लागि १६ करोड ६६ लाख रुपैयाँ बराबरको बजेट उपलब्ध गराइने भएको छ ।

त्यस्तै, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको प्रस्तावमा जेन जी आन्दोलनका क्रममा क्षति पुगेका भूमि सुधार तथा मालपोत कार्यालयका लागि ४ करोड रुपैयाँ उपलब्ध गराइने निर्णय बैठकले गरेको छ ।

जेनजी आन्दोलनका क्रममा यातायात सँग सम्बन्धित सेवा कार्यालय बन्द रहेको अवधिको कर छुट दिने निर्णय पनि सरकारले गरेको छ । बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा प्रदेश जिवनाशक विषादी व्यवस्थापन ऐन बनाउन विद्येयक तयार गर्ने निर्णय गरेको छ ।

यस ऐन मार्फत प्रदेशस्तरमा किटनाशक र विषादीको प्रयोग, नियमन र व्यवस्थापनमा एकरूपता ल्याउने तयारी गरिएको हो ।
यसैगरी, ललितपुर महानगरपालिकालाई चीनको गोन्जाउ सहरसँग भगिनी सम्बन्ध स्थापना गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*