पशु सेवा कार्यालय मकवानपुरले २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक

छहारी संवाददाता
कार्तिक १४, २०८२

पशु सेवा कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।

कार्यालय प्रमुख ब्रजकिशोर ठाकुरले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो अवधिमा सम्पन्न भएका कार्यहरूको विस्तृत जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले गत आर्थिक वर्षमा प्रशासनिक सेवा शुल्क, दण्ड–जरिवाना, जफत र बेरुजु असुलीमार्फत कुल तीन लाख तीन हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्षमा कार्यालयबाट १ हजार ४ सय २ वटा गाई, २ हजार ३ सय ३ वटा कुकुर र बिरालो, ४ सय ९५ वटा कुखुरा, २ हजार ६ सय २३ वटा बाख्रा र १२ वटा बंगुरलाई डिस्पेन्सरी सेवा प्रदान गरिएको थियो ।

साथै, ५० जना किसानका गाईवस्तुलाई उपचारका लागि भेटनरी अस्पतालसम्म ल्याउनका लागि सेवा प्रदान गरिएको र त्यसबापत कार्यालयले तेल खर्चसहित आउजाउ गरी ६ सय रुपैयाँ एम्बुलेन्स भाडा लिने गरेको जानकारी दिनुभयो ।

गत वर्ष मकवानपुरमा ४९ वटा पशुमा सर्जिकल सेवा गरिएको छ । प्रयोगशालामा कुल ४ हजार ५ सय ५३ परीक्षण भएका छन्, जसअन्तर्गत ब्याक्टेरियल कल्चर ३ सय १७, आरडीटी ४१, रगत परीक्षण ५४, थनेलो परीक्षण १ सय ८१ र गोबर परीक्षण ३ हजार ९ सय ६० वटा भएको छ ।

संक्रामक रोगविरुद्ध कार्यालयले ४३ लाख ७ सय डोज खोप लगाएको छ । तीमध्ये पीपीआर तीन लाख डोज, एचएस–बीक्यू ८ हजार, लम्पी स्किन रोगविरुद्ध १५ हजार ९ सय डोज, स्वाइन फिभर ८ हजार डोज र रेबिजका ८ सय खोप लगाइएका छन् । त्यस्तै, कार्यालयले तीन सय किसानलाई टियोसिन्टी र एक हजार किसानलाई जै घाँस वितरण गरेको छ ।

सामुदायिक स्तरमा आधारित पशुपालन कार्यक्रम अन्तर्गत ९४ वटा गाई र एउटा भैंसी खरिद गरिएको, ६५ वटा गाईगोठ सुधार, १० वटा बाख्राको खोर र १५ वटा खरायोको खोर निर्माण गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका तथ्यांक अनुसार मकवानपुर जिल्लामा हाल ९० हजार ६ सय ६१ वटा गाईगोरु, ३५ हजार ७ सय ८१ वटा राँगा–भैंसी र ४ लाख ३८ हजार वटा बाख्रा रहेका छन् । गत आर्थिक वर्षमा कार्यालयले उपलब्ध बजेटको ८५ दशमलव ४१ प्रतिशत खर्च गरेको प्रमुख ठाकुरले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*