पारिश्रमिक वृद्धिको माग गर्दै मकवानपुरका नर्स पनि आन्दोलनमा

छहारी संवाददाता
कार्तिक १४, २०८२

देशभरका नर्सहरू पारिश्रमिक वृद्धिको माग गर्दै आन्दोलनमा उत्रिएसँगै मकवानपुरमा बिहीबार पनि दुई घण्टा आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारिएको छ ।

नेपाल नर्सिङ संघको आह्वानमा भएको यस आन्दोलनमा मकवानपुरका नर्सहरूले पनि ऐक्यबद्धता जनाएका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल, मकवानपुर सहकारी अस्पताल लगायतका अस्पतालमा कार्यरत नर्सहरूले बिहान १० देखि १२ बजेसम्म अत्यावश्यक सेवाबाहेक अन्य स्वास्थ्य सेवामा उपस्थिती जनाएनन् ।

समान काम, समान ज्याला, नियमले तोके बमोजिमको विभिन्न भत्ताको व्यवस्था गर, नर्सको सम्मान राष्ट्रको स्वाभिमान, निजि अस्पतालमा श्रम शोषण बन्द गर लगायतका प्ले कार्ड बोकेर हेटौंडा अस्पतालका नर्स आन्दोलित बनेका थिए । पहिलो चरणको आन्दोलनबाट माग सुनुवाइ नभएपछि आन्दोलनको दोस्रो चरण बुधबारबाट सुरु गरिएको हो ।

यसअघि कात्तिक ४ देखि ११ गतेसम्म नर्सहरूले कालोपट्टी बाँधेर सेवा दिएका थिए । विशेषगरी निजी अस्पतालहरूमा कार्यरत नर्सहरूले सरकारले तोकेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।

निजी अस्पतालका नर्सहरूको जायज मागका लागि सबै सरकारी अस्पतालमा कार्यरत नर्सहरूले समेत ऐक्यबद्धता जनाएको हेटौंडा अस्पतालका नर्सिङ प्रमुख संमिता लामाले बताउनुभयो ।

नर्सहरूले कात्तिक १८ गतेसम्म हरेक दिन दुई घण्टा सेवा बन्द गर्ने निर्णय गरेका छन् । सरकारले नर्सहरूको न्यूनतम तलब पाँचौँ तहका दर अनुसार ३४ हजार ७३० रुपैयाँ तोकेको भए पनि धेरै निजी अस्पताल र शिक्षण संस्थाले अत्यन्तै न्यून पारिश्रमिकमा काम गराइरहेको नर्सहरूको आरोप छ ।

नेपाल नर्सिङ संघले कात्तिक २ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १५ बुँदे मागपत्र बुझाउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । संघले दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐनअन्तर्गत व्यवस्थापन गर्नुपर्ने, रात्रिकालीन, सार्वजनिक बिदा तथा चाडपर्वमा काम गरेबापत अतिरिक्त भत्ता दिनुपर्ने, योग्यता र अनुभवका आधारमा बढुवा र ग्रेड प्रणाली लागू गर्नुपर्ने लगायतका मागहरू राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*