अवैध रूपमा ढुवानी गरिएको २५ वटा गोरु सहितको ट्रक मकवानपुरबाट नियन्त्रण
जिल्ला पशु सेवा कार्यालय मकवानपुरले अवैध रूपमा ढुवानी गरिएको २५ वटा गोरु सहितको ट्रक नियन्त्रणमा लिएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत तनहुँबाट झापा जाँदै गरेको प्रदेश २०–३००१–ख–०७०७ नम्बरको ट्रकलाई नेवारपानीबाट नियन्त्रणमा लिइएको हो । पशु सेवा कार्यालयका टोली र जिल्ला प्रहरी कार्यालयको टोलीले जाँच गर्ने क्रममा उक्त ट्रकमा अवैध रूपमा गोरु ढुवानी भइरहेको फेला पारेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा.ब्रजकिशोर ठाकुरले जानकारी दिनुभयो ।
गोरु ढुवानीका लागि आवश्यक कागजातहरू नदेखिएको र पशु ढुवानी मापदण्ड २०६४ विपरीत रूपमा ओसारिएको पाइएपछि २५ वटा गोरु नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । ट्रक चालक रौतहट चन्द्रनिगहपुर २ का मिलन केसीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कार्वाही अगाडी बढाएको छ ।
नियन्त्रणमा लिइएका गोरु राख्ने गौशालाको अभावका कारण मकवानपुरगढी–५ का स्थानीय किसानलाई पालन–पोषणको जिम्मा दिइएको प्रमुख ठाकुरले बताउनुभयो । कार्यालयले हालसम्म पशु ढुवानी मापदण्ड विपरीत ओसार–पसार गरिएका दुई सय भन्दा बढी गाईगोरु नियन्त्रणमा लिएर स्थानीय कृषकलाई जिम्मा लगाएको छ ।
अवैध ओसारपसारमा संलग्न १२ जनामाथि कारबाही समेत गरिएको छ । प्रमुख ठाकुरले गाईगोरु तस्करीका घटनामा विभिन्न राजनीतिक दलका पदाधिकारीदेखि उच्च पदस्थ कर्मचारीसम्मको संलग्नता रहेको आरोप लगाउनुभयो । पश्चिमबाट ल्याइएको गाईगोररु काकटभित्ता हुँदै बंगलादेशतर्फ तस्करी हुने गरेको छ ।






