मकैसंगै लगाइएको पिँडालुबाट इन्द्रसरोवरका किसानको राम्रो आम्दानी
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका किसानले पछिल्ला वर्षहरूमा पिँडालुबाट राम्रो आम्दानी लिन थालेका छन् ।
हरिबोधनी एकादशी अर्थात् ठूलो एकादशीका समयमा पिँडालुको माग बढ्ने भएकाले यहाँका किसानहरूले मकैभित्रै पिँडालु लगाउने गरेका छन् । मकैसंगै लगाउँदा खानका लागि मकै र आम्दानीका लागि पिँडालु दुवै उत्पादन हुने भएकाले किसानहरू यसतर्फ आकर्षित भएका हुन् ।
व्यवसायिक रूपमा पिँडालु खेती नगरे पनि मकैसँगै लगाइएका पिँडालुबाटै एकैपटक ४० देखि ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको किसानहरूको भनाइ छ । पहिले मकै मात्र हुने यो क्षेत्रमा सडक विस्तारसँगै पछिल्ला वर्षमा तरकारी र नगदे बालीतर्फ किसानहरूको आकर्षण बढेको छ ।
स्थानीय बुद्धिमाया थिङले करिब दुई रोपनी क्षेत्रफलमा पिँडालु लगाउनुभएको छ । उहाँका अनुसार पिँडालु खेतीमा मेहनत कम पर्नुका साथै सिँचाइको आवश्यकता पनि नपर्ने भएकाले किसानहरू यस खेतीतर्फ आकर्षित भएका हुन् ।
प्रति रोपनी एक हजारदेखि १२ सय किलोसम्म पिँडालु उत्पादन हुने गर्छ । गत वर्ष उहाँले करिब ५० हजार रुपैयाँको पिँडालु बिक्री गर्नुभएको थियो । बजारमा माग धेरै हुने भएकाले बिक्रीमा कुनै समस्या नआएको उहाँको भनाइ छ ।
यहाँ उत्पादन हुने पिँडालु काठमाडौंको कालिमाटी बजारसम्म पुग्ने गरेको छ । हाल किसानको बारीबाटै प्रतिकिलो ८० रुपैयाँमा पिँडालु बिक्री भइरहेको छ । पिँडालुको गानो, डाँठ र पात समेत विभिन्न परिकार बनाउन प्रयोग गरिन्छ ।
ठूलो एकादशीका अवसरमा पिँडालु र सक्खरखण्डाको माग विशेष रूपमा बढ्ने गरेको छ ।






