छठका लागि यसवर्ष हेटौंडा–६ का किसानको करिब तीन क्विन्टल अदुवा बोटसहित बिक्री

छहारी संवाददाता
कार्तिक १०, २०८२

छठ पर्वका लागि यस वर्ष मकवानपुरको हेटौंडा–६ का किसानहरूले करिब तीन क्विन्टल अदुवा बोटसहित बिक्री गरेका छन् ।

छठमा अदुवाको बोट (स्याउला) चढाउने चलन भएकाले बोटसहितको अदुवाको माग उल्लेख्य रूपमा बढेको हो । “प्रति किलो ८० रुपैयाँमा स्याउलासहित अदुवा बिक्री भयो,” स्थानीय किसान युवराज तिमल्सिनाले बताउनुभयो ।

उहाँले भन्नुभयो , “अदुवाको बुढी बिक्रीबाट लगानी उठिसकेको थियो, स्याउलाबाट मुनाफा भयो।” तिमल्सिनाले मात्रै एक क्विन्टल अदुवा बोटसहित बिक्री गर्नुभएको छ भने बाँकी दुई क्विन्टल अन्य किसानहरूले बिक्री गरेका हुन् ।

व्यापारीहरू बिरगन्ज, कलैया लगायतका शहरबाट सीधै किसानको बारीमै पुगेर अदुवा खरिद गरेका थिए । अदुवा खेती हुने अधिकांश क्षेत्र बाँदर प्रभावित क्षेत्र हो । बाँदरले धान, मकै, कोदो जस्ता अन्नबाली नष्ट गर्न थालेपछि किसानहरूले वैकल्पिक रूपमा अदुवा र बेसार खेती गर्न थालेका हुन् ।

अदुवा र बेसार खेतीलाई प्रोत्साहन गर्न प्रदेश सरकारको ससर्त अनुदानमा हेटौंडा उपमहानगरपालिकाले कृषि सहकारी संस्थामार्फत बिउ वितरण कार्यक्रम सञ्चालन गरेको थियो । नौलो बिहानी कृषि सहकारीका अध्यक्ष विष्णु ढुंगानाका अनुसार, करिब पाँच हजार किलो अदुवाको बिउ ७६ जना किसानलाई मागका आधारमा वितरण गरिएको हो ।

यस्तै, पाँच सय किलो बेसारको बिउ २९ जनालाई वितरण गरिएको उहाँले बताउनुभयो ।

बिउ वितरणमा ५० प्रतिशत लगानी प्रदेश सरकार र बाँकी ५० प्रतिशत सहकारीको रहेको छ । बेसार खेतीमा सहभागी किसानले दुई वर्षभित्र लगाएको बिउ बराबर फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ, जसले गर्दा सो बिउ अर्को किसानसम्म घुम्ती रूपमा पुगोस् भन्ने उद्देश्य राखिएको अध्यक्ष ढुंगानाले बताउनुभयो ।

किसान अन्जु ढकाल भन्नुहुन्छ “पहिले बाँदरले सबै खेती नष्ट गरिदिन्थ्यो, केही फल्दैनथ्यो । बाँदरले हैरान पारेपछि १० वर्षसम्म बारी बाँझै छोडेको थियौं । अहिले अदुवा र बेसार लगायौं, बोट राम्रो भएको छ ।”

अदुवाको खेतीले किसानलाई मात्र आर्थिक राहत दिएको छैन, बाँदरबाट सुरक्षित बालीको विकल्प पनि बनेको छ । बारीमै व्यापारी पुग्ने, नगद हातमै पाइने र बादरको जोखिम कम हुने भएकाले किसानहरूको उत्साह थपिएको छ ।

छठ पर्वका कारण अदुवाको मूल्य पनि बढेको छ । सामान्य समयमा प्रति किलो ५०–६० रुपैयाँमा बिक्री हुने नयाँ अदुवा अहिले किसानको बारीबाटै ८० रुपैयाँमा बिक्री भइरहेको छ ।

बाँदरको आतंकका कारण खेती छाड्न बाध्य किसानहरू अहिले अदुवाको हरियो बोटमै मूल्य पाउँदा खुशी छ्न ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*