मकवानपुरमा राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

छहारी संवाददाता
कार्तिक ३, २०८२

मकवानपुरमा यस वर्ष पनि राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार सूचना जारी गर्दै तिहारका अवसरमा राति ९ बजेसम्म मात्र देउसी–भैलोलगायतका सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको हो ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा चाडपर्वका समयमा खुशीयाली मनाउँदा अन्य व्यक्ति, छिमेकी तथा समुदायलाई असर नपर्ने गरी मनाउन आग्रह गरिएको छ ।

सूचनामा पटाका, भूइँचम्पा, आतिशबाजी जस्ता प्रज्वलनशील पदार्थको प्रयोगबाट सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा असर पर्ने भएकाले ती पदार्थको भण्डारण, बिक्री–वितरण, ओसारपसार तथा प्रयोग नगर्न चेतावनी दिइएको छ ।

त्यस्तै, जुवा, तास, लङ्गुर बुर्जा खेल्ने–खेलाउने, सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला वा झैझगडा गर्ने कार्य नगर्न समेत आग्रह गरिएको छ ।

प्रशासनले तिहार र छठ पर्वलाई शान्तिपूर्ण, सौहार्दपूर्ण र मर्यादित ढंगले मनाउन सबैलाई आह्वान गरेको छ ।  दियो बाल्दा वा विद्युतीय सजावट गर्दा आगलागीको जोखिम हुन सक्ने भएकाले सतर्क रहन सुझाव दिइएको छ ।

यस्तै, प्लास्टिकजन्य सामग्रीको उत्पादन, आयात, बिक्री तथा प्रयोग नगर्न अनुरोध गर्दै उल्लङ्घन गर्ने व्यक्तिलाई कानूनी कारबाही गरिने चेतावनी दिइएको छ । शान्ति सुरक्षामा प्रतिकूल असर पर्ने वा अनुशासनविपरीत गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा वा १०० नम्बरमा जानकारी दिन प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रशासनले सबै नागरिकलाई धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक विविधताको सम्मान गर्दै मर्यादित र सुरक्षित तरिकाले पर्व मनाउन अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*