हाइटेन्सन लाइन स्थानान्तरणको माग गर्दै हेटौंडा १६ का प्रभावित स्थानीयको धर्ना

छहारी संवाददाता
अशोज ३०, २०८२

हेटौंडा उपमहानगरपालिका–१६ हटिया क्षेत्रका हाइटेन्सन लाइन प्रभावित स्थानीयले प्रसारण लाइन स्थानान्तरणको माग गर्दै बिहीबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा धर्ना दिएका छन् ।

नेपाल–भारत ऊर्जा आदानप्रदान अन्तर्गत निर्माणाधीन हेटौंडा–ढल्केवर–दुहबी ४ सय केभी प्रसारण लाइन मानव बस्तीभित्रबाट जाने भन्दै स्थानीयले वस्ती बाहिरबाट प्रसारण लाइन लैजान माग गरेका हुन् । मानव वस्ती, खेतीयोग्य जमिन, निजि सम्पतीबाट प्रसारण लाइन जान नहुने भन्दै बस्तीदेखि करिब ५ सयदेखि ८ सय मिटर दक्षिणतर्फ लैजान माग गरिएको हाइटेन्सन लाइन संघर्ष समितिका संयोजक हरि प्रसाद वाग्लेले बताउनुभयो ।

धर्नापछि प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठसँगको छलफलका क्रममा बोल्दै संयोजक वाग्लेले विकल्प हुँदाहुँदै दशकौंदेखि बसोबास गर्दै आएको मानव बस्तीमाथि टावर राख्न खोज्नु उचित नहुने बताउनुभयो ।

२०७५ साल पौष २४ गते स्थानीय जनप्रतिनिधिहरूको बैठकले पनि सर्भे गरिएको क्षेत्रमा नागरिकको निजी सम्पत्ति, खेतीयोग्य जमिन र वस्ती पर्ने भएकाले वैकल्पिक मार्ग खोजिनुपर्ने निष्कर्ष निकालिएको थियो । सो निर्णय अनुसार नै बस्ती बाहिरबाट लाइन लैजानुपर्ने माग उठाइए पनि कार्यान्वयन भने हुन सकेको छैन ।

नेपाल विद्य्त् प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक तथा हालका उर्जा मन्त्री कुलमान घिसिङको आदेश अनुसार पुनः सर्भे गरिएको क्षेत्रबाट नै विद्युत् लाइन बिस्तार हुनुपर्ने वडा नं. १६ का अध्यक्ष रामकृष्ण कोइरालाले बताउनुभयो । प्रतिव्यक्ति ७ देखि ३५ धुरसम्म नम्बरी जग्गा टावर निर्माण क्षेत्रमा पर्ने बताउँदै करिब दुई सय घर प्रभावित हुने उहाँले बताउनुभयो ।

हेटौंडा–११ थानाभ¥याङस्थित सबस्टेसनबाट इनरुवा सबस्टेसनसम्म २ सय ८८ किलोमिटर लामो प्रसारण लाइन परियोजनाअन्तर्गत ढल्केवर–बकैया सम्म लाइन विस्तार भइसकेको छ । हेटौंडा उपमहानगरकाका केही क्षेत्रमा पनि आधा काम सकिएको छ । तर, वडा नं. १५, १६ र १७ का स्थानीयले रुट परिवर्तनको माग गर्दै सात वर्षदेखि अवरोध गरिरहेका कारण हटिया क्षेत्रका १४ टावर निर्माण रोकिएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका हेटौंडा–ढल्केवर–इनरुवा प्रसारण आयोजना निर्देशक श्याम कुमार यादवले थानाभ¥याङ सबस्टेसनमा लाइन जोड्ने अर्को विकल्प नभएकाले रुट सार्न सकिने अवस्था नरहेको बताउनुभयो । प्रसारण लाइन विस्तार रोकिँदा राज्यले बर्षौँदेखि ठूलो आर्थिक क्षति बेहोर्दै आएको उहाँले बताउनुभयो ।

यो प्रसारण लाइनको रुट मकवानपुर सहित ६ जिल्ला रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*