मकवानपुरका पत्रकारलाई निःशुल्क उपचार सेवा
नेपाल पत्रकार महासंघ मकवानपुर र मकवानपुर सहकारी अस्पतालबीच स्वास्थ्य उपचार सम्झौता भएको छ ।
सम्झौता अनुसार महासंघमा आबद्ध सदस्यहरूले अस्पतालबाट निःशुल्क ओपीडी, शल्यक्रिया र भर्ना भएर गरिने उपचार सेवा पाउने भएका छन् । शनिबार महासंघको हलमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष बालकृष्ण अधिकारी र अस्पतालका अध्यक्ष नरोत्तम दाहालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापत्रमा उल्लेख भए अनुसार पत्रकार महासंघका सदस्यहरूले ल्याब परीक्षण, रेडियोलोजी लगायत अन्य परीक्षणहरू पनि निःशुल्क पाउनेछन्। औषधी खरिदमा भने १० प्रतिशत छुट प्राप्त गर्ने महासंघका सचिव केशव समर्पण सुवेदीले जानकारी दिनुभयो ।
अस्पताल सञ्चालन समितिका सचिव अर्जुन विडारीले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सक्रिय पत्रकारहरूको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले सम्झौता गरिएको बताउनुभयो ।
उपचार सेवा लिनका लागि महासंघका सदस्यहरूले आफ्नो सदस्यता प्रमाणपत्र अनिवार्य देखाउनुपर्नेछ । प्रारम्भिक चरणमा यो सम्झौता तीन वर्षका लागि गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखामा १ सय १७ सदस्य आबद्ध छन्।






