नारायणगढ–मुग्लिन सडक अवरुद्ध, वैकल्पिक मार्गमा सवारीको चाप
विशेषगरी पूर्वतर्फ र पश्चिमतर्फ जाने साना सवारीसाधनहरू हेटौंडा हुँदै गन्तव्यमा जाने गरेका छन् । सवारीको चाप बढेसँगै ट्राफिक प्रहरीलाई सवारी व्यवस्थापन गर्न भ्याई नभ्याई भएको छ ।
काठमाडौं जाने ठूला तथा मालवाहक सवारीसाधनलाई भने हेटौंडाको १ चौकीटोलमा रोकिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हेटौंडा–काठमाडौं जोड्ने चारवटै वैकल्पिक मार्गहरू सुचारु अवस्थामा छन् ।
कान्तिलोकपथ, त्रिभुवन राजपथ, हेटौंडा–भीमफेदी–सिस्नेरी–दक्षिणकाली र हेटौंडा–कुलेखानी–फाखेल–काठमाडौंमा कुनै अवरोध नरहेको मकवानपुरका प्रहरी प्रवक्ता श्यामु आर्यालले बताउनुभयो ।
विशेषगरी त्रिभुवन राजपथमा सवारीको अत्याधिक चाप रहेको उहाँले जानकारी दिनुभयो । सडक विभागले पनि नारायणगढ–मुग्लिन सडकको विकल्पका रूपमा यी वैकल्पिक मार्गहरूको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
सामान्य वर्षामै अवरुद्ध हुने यी सडकमार्गहरूमा यात्रु र सवारीको चापलाई मध्यनजर गर्दै, सडक खुलाउनका लागि आवश्यक जेसिबी तथा जनशक्तिहरू तयारी अवस्थामा राखिएको प्रवक्ता आर्यालले बताउनुभयो ।
पूर्व–पश्चिम राजमार्गमा भने हाल पश्चिमबाट मात्रै सवारी साधनहरू आइरहेका छन् ।






