हेटौंडामा सुपथ मूल्य बजार सञ्चालन

छहारी संवाददाता
अशोज ७, २०८२

विजयादशमीको पावन अवसर पारेर उपभोक्तालाई राहत पु¥याउने उद्देश्यका साथ हेटौँडामा सुपथ मूल्य बजार सञ्चालनमा ल्याइएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघको व्यवस्थापन र मकवानपुर अधिकृत बिक्रेता व्यवसायी संघको संयोजनमा सञ्चालित यस बजारको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले उद्घाटन गर्नुभयो ।

दैनिक उपभोग्य वस्तुको सुपथ मूल्यमा उपलब्ध गराउने अपेक्षा सहित सुभारम्भ गरिएको बजार असोज ११ गतेसम्म पल्पसा सभा गृहमा सञ्चालन हुनेछ । यस बजारमा उपभोक्ताले दैनिक उपभोग्य खाद्यवस्तुहरू होलसेल मूल्यमा खरिद गर्न पाउनेछन् ।

विभिन्न १५ वटा स्टलहरूमा तोरीको तेल, चिनी, पिठो लगायतका अत्यावश्यक खाद्यान्न र दैनिक प्रयोगका सामग्रीहरू सुपथ मूल्यमा बिक्रिका लागि राखिएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले मकवानपुर उद्योग वाणिज्य संघले उपभोक्ताहरूलाई सरल र सहज तरिकाले दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सञ्चालनमा ल्याएको यस सुपथ बजारले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गनुृभयो ।

विशेषगरी चाडपर्वको समयमा व्याप्त रहने मूल्य वृद्धिको अवस्थामा यस्तो बजारले पारदर्शिता प्रवर्धन गर्न प्रभावकारी भूमिका खेल्ने उहाँको धारणा थियो । बजारलाई अझ व्यवस्थित बनाउन मूल्य सूची स्पष्ट रूपमा राख्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, संघका पूर्वअध्यक्षहरू, बोर्ड सदस्यहरू र सल्लाहकार लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*