हेटौंडामा उपभोक्ता ठगिँदै: डिउको प्याकेटमा जबरजस्ती मिरिन्डा र स्लाइस !

छहारी संवाददाता
अशोज ७, २०८२

चिसो पेय पदार्थ माउन्टेन डिउ किन्ने उपभोक्ताहरूलाई मिरिन्डा पनि किन्न बाध्य पारिएको छ ।

हेटौंडाको कान्तिलोकपथ भैरवरोड क्षेत्रमा मंगलबार भएको बजार अनुगमनका क्रममा यस्तो पाइएको हो । माउन्टेन डिउको ९ वटा बोटलको केसमा अनिवार्य रूपमा एउटा मिरिन्डा राखेर बिक्रीमा पठाएको पाइएको छ ।

डिउ किन्ने उपभोक्ताहरूले बाध्यतावश मिरिन्डा पनि किन्नु परेको गुनासो गरेका छन् । एक केस नै किन्ने उपभोक्ताले मिरिन्डा किन्नैपर्ने बाध्यता रहेको बिक्रेताहरुले बताएका छन् । ९ वटा प्याकेटको केस फोडेर ८ वटा डिउ र एउटा मिरिन्डा राखेर बिक्री गरिरहेको पाइएको छ ।

बिक्रेताहरुले आफूहरूले यस्तो नगरेको र डिलरबाट नै यसरी आएको बताएका छन् ।

यस्तो कार्य उपभोक्ता अधिकार विपरीत रहेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले आपत्ति जनाएको छ । मञ्चका उपाध्यक्ष बासु खतिवडाले डिलरहरूले कम बिक्री हुने मिरिन्डा र स्लाइसजस्ता पेय पदार्थ डिउको प्याकेटमा हालेर उपभोक्तालाई किन्न बाध्य पारिरहेका भन्दै आपत्ति जनाउनुभयो ।

उपभोक्ता अधिकार ऐन अनुसार प्याकेटमा एक वस्तु देखाएर अर्को बिक्री गर्न नमिल्ने उहाँले बताउनुभयो । यस विषयमा जिल्ला प्रशासन कार्यालयले सम्बन्धित डिलरलाई कारबाही गर्नुपर्ने माग समेत उहाँले गर्नुभयो ।

खाद्य तथा प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षण अधिकारी दिपक घिमिरेले अनुगमनका क्रममा माउन्टेन डिउमा मिरिन्डा अनिवार्य गरेर पठाएको पुष्टि गर्नुभयो ।

यद्यपि, कार्यालयको अधिकार खाद्य पदार्थको गुणस्तर, म्याद गुज्रेको सामान, र लेबल जाँचमा मात्र सीमित भएकाले यस विषयमा के गर्ने भन्ने बारेमा छलफल गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो ।

यसरी नै, सानो साइजको डिउमा समेत स्लाइस पेय पदार्थ राखेर बिक्री गरिएको पाइएको छ । डिलरहरूले कम बिक्री हुने मिरिन्डा र स्लाइसजस्ता पेय पदार्थ डिउको प्याकेटमा हालेर उपभोक्तालाई किन्न बाध्य पारिरहेका हुन् । चाडपर्व लक्षित संयुक्त बजार अनुगमनका क्रममा कान्तिलोकपथ, भैरवरोड लगायतका क्षेत्रका खाद्यान्न पसल, मिठाई पसल लगायतका अनुगमन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*