मकवानपुरमा यात्रु बस, ट्रक र ट्याङ्कर आपसमा ठोक्किँदा ३१ जना घाइते
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरमा तीनवटा सवारी ठोक्किदा ३१ जना घाइते भएका छन् ।
सोमबार दिउँसो करिब १ बजेतिर चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुबाहक बसको चालक साइडको टायर पड्किँदा बस अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ८१८० नम्बरको मालबाहक ट्रकसँग ठोक्किएको थियो ।
सोहीे क्रममा अनियन्त्रित बनेको ट्रक काठमाण्डौंबाट बारातर्फ आउँदै गरेको ना ७ ख १७७४ नम्बरको तेल बोकेको खाली ट्याङ्करसँग पनि ठोक्किएको प्र्हरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ३१ जनाको हेटौंडा अस्पताल र सीएमसी चुरेहिल अस्पतालमा उपचार भईरहेको छ ।
तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता श्यामु आर्यालले बताउनुभयो । अन्य घाइतको अवस्थो मध्यम तथा सामान्य बताइएको छ ।
दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय नेवारपानी, जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट २५ जना प्रहरीको टोली घटनास्थलमा परिचालन गरि सवारी साधनहरू हटाउने र यातायात सुचारु गराउने कार्य भैरहेको जनाइएको छ ।






