युवापुस्ताको चाहना वर्तमान संविधानको परिधीभित्र रहेर पुरा गर्न सकिन्छः बागमती प्रदेश प्रमुख देवकोटा

बागमती प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले राजनीतिक नेतृत्वहरुको गल्तीलाई संविधानको दोषको रुपमा लिन नमिल्ने बताउनुभएको छ ।
संविधान दिवस २०८२ को अवसरमा बागमती प्रदेश सरकारले शुक्रबार हेटौंडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधा गर्दै प्रदेश प्रमुख देवकोटाले संविधान कार्यान्वयनको क्रममा राजनीतिक नेतृत्वहरुले गरेको कमजोरीलाई संविधानको दोष भनेर उपमा दिनु जायज नभएको बताउनुभयो । उहाँले दलहरुले आफ्नो गल्ती, कमजोरीलाई समयमै चिन्नुपर्ने समेत बताउनुभयो ।
संसारमा सबै कुरा गतिशिल र परिर्वतनीय भएकोले दलहरुले पनि समय सापेक्ष परिवर्तनलाई अंगीकार गर्नुपर्ने उहाँको भनाई थियो । प्रदेश प्रमुख देवकोटाले युवापुस्ताको चासो र चाहनालाई वर्तमान संविधानको परिधीभित्र रहेर पुरा गर्न सकिने बताउनुभयो ।
संविधानको सर्वोच्चता र न्यायमूलक समाजको अपरिहार्यता आजको आवश्यकता भएको उहाँले उल्लेख गर्नुभयो । स्वाभिमान र स्वाधीनतामा कसैसंग सम्झौता गर्न नहुनेमा पनि उहाँले जोड दिनुभयो ।