जेनजी पुस्ताको असन्तुष्टिले देशमा निम्तीएको संकटको जिम्मा प्रमुख तीन दलले लिनुपर्छः शालिकराम जम्कट्टेल

छहारी संवाददाता
अशोज ३, २०८२

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेलले जेनजी पुस्ताको असन्तुष्टि र पछिल्लो घटनाक्रमको मुख्य कारण प्रमुख दलहरू रहेको टिप्पणी गर्नु भएको छ ।

संविधान दिवस २०८२ का अवसरमा बागमती प्रदेश सरकारले शुक्रबार हेटौंडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जेनजी पुस्ताको असन्तुष्टिले देशमा निम्तीएको संकटको जिम्मेवारी प्रमुख राजनीतिक दलहरूले लिनुपर्ने बताउनुभयो ।

पूर्वमुख्यमन्त्री जम्कट्टेलले जेनजीको सडक प्रदर्शनको पछाडि कुन शक्ति छ भन्नेतर्फ लाग्नुभन्दा आफ्नो कमजोरी स्विकार गरी आफैँलाई नसच्याए देशले ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो । व्यवस्था परिवर्तन भए पनि काम गर्ने शैली परिवर्तन नहुँदा जनताले परिवर्तनको अनुभूति गर्न नपाएको भन्दै उहाँले जनताको पहुँच र आवश्यकतामा आधारित विकास हुन नसक्दा असन्तुष्टि बढेको जिकिर गर्नुभयो ।

पूर्वमुख्यमन्त्री जम्कट्टेलले प्रदेश संरचनाहरू राख्नु हुँदैन भन्ने प्रश्न उठिरहेको अवस्थामा अब गम्भिर समीक्षा गर्ने बेला आएको समेत बताउनुभयो ।
भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउनुपर्नेमा जोड दिँदै उहाँले भ्रष्टाचारका मुद्दामा जोसुकै भए पनि कारबाही गर्न आँट गर्नुपर्ने बताउनुभयो । राजनीतिक नेतृत्व, कर्मचारी प्रशासनलगायत सबै पक्षले सुशासनको पक्षमा दृढतापूर्वक उभिनुपर्ने र जनताको आवाजलाई सम्बोधन गर्नुपर्ने बेला आएको उहाँको भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*