भीमफेदी गाउँपालिकाद्धारा उच्च अदालत पाटन, हेटौंडा इजलासलाई प्राविधिक सामग्री हस्तान्तरण

मकवानपुरको भीमफेदी गाउँपालिकाले उच्च अदालत पाटन, हेटौंडा इजलासलाई प्राविधिक सामग्री हस्तान्तरण गरेको छ ।
जेन–जी आन्दोलनका क्रममा उच्च अदालत पाटन, हेटौंडा इजलास भवन र त्याहाँ रहेका अधिकांश सामग्री जलेर नष्ट हुँदा अदालतको कामकाज प्रभावित भएको अवस्थामा पालिकाले सहयोग सामग्री प्रदान गरेको हो ।
अदालतका दैनिक कामकाज सञ्चालनमा कठिनाई उत्पन्न भएको अवस्थामा गाउँपालिकाले २ थान कम्प्युटर र ३ थान प्रिन्टर अदालतलाई प्रदान गरिएको हो । बिहीबार भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले उच्च अदालत पाटन, हेटौंडा इजलासका निमित्त रजिष्ट्रार बद्री प्रसाद लामिछानेलाई सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो ।
अध्यक्ष लामाले राज्य नै विषम परिस्थितिबाट गुज्रिरहेको बेला न्याय निरुपणको महत्वपूर्ण कार्यमा सघाउ पुर्याउनका लागि गाउँपालिकाले सामग्री प्रदान गरेको बताउनुभयो । सेवा प्रवाह गर्ने निकायहरूलाई कार्य सम्पादनमा सहजता ल्याउनका लागि आवश्यक सहयोग पुर्याउनु पालिकाको कर्तव्य भएको पनि उल्लेख गर्नुभयो ।
पालिकाले भीमफेदी कारागारमा पनि कम्प्युटर लगायतका सामग्रीहरू प्रदान गरेको थियो । हस्तान्तरण कार्यक्रममा भीमफेदी गाउँपालिकाका उपाध्यक्ष संजिव श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवर, अदालतका अधिकृत जय प्रकाश घिमिरे लगायतकाको उपस्थिति रहेको थियो ।