प्रदेश सरकार र प्रतिपक्षले गरे बागमती प्रदेशका क्षतिग्रस्त संरचनाहरुको निरीक्षण

छहारी संवाददाता
अशोज २, २०८२

बागमती प्रदेश सरकार र प्रतिपक्षले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा बागमती प्रदेशमा क्षतिग्रस्त बनेका भौतिक संरचनाहरुको बिहीवार छुट्टाछुट्टै निरीक्षण गरेका छन् ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ सहितका मन्त्रीहरू र प्रतिपक्षी दल नेकपा माओवादी तथा एकीकृत समाजवादी लगायतका नेताहरूले आन्दोलनबाट क्षतिग्रस्त संरचनाहरूको निरीक्षण गरेका हुन् ।

निरीक्षणको क्रममा मुख्यमन्त्री बानियाँले एक महिनाभित्र क्षति भएका संरचनाहरूको पुनर्निर्माण कार्य सुरु गरिने बताउनुभयो । उहाँले प्राविधिक दृष्टिकोणले क्षतिको मूल्यांकन गरी सोही अनुसार अगाडि बढ्ने बताउनुभयो ।

मुख्यमन्त्री बानियाँले जेनजी आन्दोलनका नाममा घुसपैठ भएको दाबी गनुृभयो । आन्दोलनमा नाममा राज्यका तीन अंग र गणतन्त्रमाथि नै सुनियोजित आक्रमण भएको आरोप लगाउनुभयो ।

मुख्यमन्त्री बानियाँसँगै निरीक्षण टोलीमा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ, आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी, खानेपानीमन्त्री कृष्ण तामाङ, गरिबी तथा सहकारी मन्त्री बिन्दू रायमाझी, प्रदेश प्रमुख सचिव भुपाल बराल लगायत सहभागी रहेका थिए ।

उनीहरुले प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, चारवटा मन्त्रालय रहेको सेतो भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र चौकीटोलस्थित भाटभटेनी सुपर मार्केट लगायतका स्थानहरूको निरीक्षण गरेका छन् ।

यसैगरि बिहीबार नै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी र एकीकृत समाजवादीले क्षतिग्रस्त संरचनाको निरीक्षण गरेका छन् ।  निरीक्षणपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जमकट्टेलले प्रदेश सरकारको भूमिकामाथि प्रश्नचिन्ह उठाउनुभयो ।

नेता जम्कटेलले कार्यकारी भूमिकामा रहेको प्रदेश सरकारको भूमिका प्रभावकारी नदेखिएको आरोप लगाउनुभयो । आपत विपतका समयमा सरकार सक्रिय हुनुपर्नेमा जोड दिँदै उहाँले सरकार भाग्न नहुने बताउनुभयो ।

व्यवस्था परिवर्तनका लागि लडेका पार्टीहरू सरकारमा हुँदा पनि प्रभावकारी भूमिका नदेखिनु दुःखद भएको उहाँको भनाइ थियो । सरकारी र सार्वजनिक सम्पत्तिमाथि भएको आगजनी तथा तोडफोड निन्दनिय भएको उहाँले उल्लेख गर्नुभयो ।

यस्तै एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले अहिलेको परिस्थितिको सिर्जना हुनुमा राजनीतिक दलहरूको जनताप्रतिको जवाफदेहीता कमजोर भएको कारण रहेको बताउनुभयो ।

नेताहरूमा जीवनभर नेतृत्वमा रहनुपर्छ भन्ने मानसिकताको उपज पनि वर्तमान परिस्थती आएको औंल्याउनुभयो ।

आन्दोनको दशौं दिनमा सरकार र प्रतिपक्ष प्रदेश राजधानी हेटौंडाको अवस्था बुझ्न आएका हुन् । जेन जी आन्दोलनका क्रममा बागमती प्रदेशका ९ मन्त्रालय तथा मातहतका कार्यालयहरूमा तोडफोड तथा आगजनी गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*