बागमती प्रदेशमा जेनजी आन्दोलनबाट भएको भौतिक क्षतिको अध्ययन गर्न सचिवस्तरीय कार्यदल गठन

छहारी संवाददाता
अशोज १, २०८२

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा बागमती प्रदेशको भौतिक संरचनामा भएको क्षतिको प्रारम्भिक अध्ययन तथा विश्लेषण गर्नका लागि सचिवस्तरीय चार सदस्यीय कार्यदल गठन गरिएको छ ।

आन्दोलनबाट प्रदेश सरकारका भवन तथा भौतिक संरचनामा पुगेको क्षतिको अवस्था, पुनर्निर्माणको सम्भावना र अनुमानित लागतबारे विस्तृत प्रतिवेदन पेश गर्ने जिम्मेवारी यस कार्यदललाई प्रदान गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव भूपाल बरालको अध्यक्षतामा बसेको बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलका अन्य सदस्यहरूमा खानेपानी, उर्जा तथा सिँचाइ मन्त्रालयका सचिव इन्द्रदेव भट्ट, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका सचिव हेमराज भुषाल र संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदी रहेका छन् ।

कार्यदलले प्रदेश सरकार अन्तर्गतका भवन तथा भौतिक संरचनामा भएको क्षतिको प्रारम्भिक अध्ययन र विश्लेषण गर्नेछ । पुनर्निर्माण गरी संचालन गर्न सकिने वा नसकिने अवस्था, सम्भावना र यसका लागि लाग्ने अनुमानित लागत लगायतका विषयहरू समेटी असोज ५ गतेभित्र प्रतिवेदन पेश गर्नेछ ।

यस्तै, बैठकले पूर्ण रुपमा क्षति पुगेको मन्त्रालय र कार्यालयहरूको विवरण संकलन गरी क्षतिग्रस्त मन्त्रालयहरूलाई अन्यत्रबाट संचालन गर्नका लागि आवश्यक प्रबन्ध मिलाउने निर्णय गरेको समेत गरेको छ । क्षतिग्रस्त मन्त्रालय, निकाय, कार्यालयबाट प्रवाह गरिने सेवाहरू सुचारु गर्नका लागि सम्भाव्य स्थान पहिचान गरी तत्कालै सेवा सुचारु गरिने निर्णय गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*