मकवानपुर प्रहरीद्धारा चोरी तथा लुटपाटका सामान सम्बन्धित कार्यालयलाई फिर्ता
भदौ २४ गतेको जेनजि आन्दोलनका क्रममा बागमती प्रदेशका विभिन्न मन्त्रालय र कार्यालयहरूबाट चोरी तथा लुटपाटमा परेका सामानहरू प्रहरीले नियन्त्रणमा लिएर सम्बन्धित निकायलाई फिर्ता गरेको छ ।
सरकारी कार्यालयहरूबाट लगिएका सामग्री प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत इकाईमार्फत नियन्त्रणमा लिई मंगलबार सम्बन्धित कार्यालयका कर्मचारीलाई बुझाइ दिएको हो । प्रहरीका अनुसार बुझाइएका सामानहरू एकिन प्रक्रिया पुरा गरी कार्यालयमै जिम्मा लगाइएको छ ।

प्रहरीले फिर्ता गरेका सामानमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौडाका कम्प्युटर सेट ४ थान, दराज ३ थान, प्रिन्टर ३ थान, हार्ड डिस्क १ थान, फोटोकपी मेसिन १ थान, इन्भर्टर १ थान, कुर्सी ६ थान, स्पिकर सेट २ थान, कचौरा र प्लेट सेट ३१ थान, पंखा १ थान, ब्याट्री ४ थान र फ्रिज १ थान रहेका छन् ।
त्यस्तै, सामाजिक विकास मन्त्रालयको कम्प्युटर सेट ३ थान, ल्यापटप १ थान, कुर्सी ९ थान र इन्डक्सन चुलो १ थान फिर्ता गरिएको छ । यस्तै स्वास्थ्य मन्त्रालयको कम्प्युटर सेट ५ थान, प्रिन्टर १ थान, कुर्सी ३ थान, र्याक १ थान र इलेक्ट्रिक जग १ थान पनि सम्बन्धित निकायलाई बुझाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले अन्य लुटिएका सामानको खोजी तथा नियन्त्रण कार्य अझै जारी रहेको र क्रमशः फिर्ता प्रक्रिया अघि बढाइने प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो ।






