आन्तरिक मामिला तथा कानुन मन्त्राको ७० लाख बराबरको क्षति
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले स्थानीय तहलाई हस्तान्तरणका लागि ल्याएको प्रिन्टर समेत जेनजी आन्दोलनका समयमा चोरी भएको छ ।
भदौ २४ गते भएको आन्दोलनका क्रममा जेननी समूहले स्थानीय तहलाई प्रदान गर्नका लागि ल्याइएको १० थान प्रिन्टर लगायत अन्य सामग्री चोरेर लगेका हुन् । आन्दोलनका क्रममा आगजनी र तोडफोड समेत भएको छ ।
मन्त्रालयका विभिन्न महाशाखा तथा शाखामा रहेका कम्प्युटर, ल्यापटपदेखि कार्यालय सामग्रीसम्म लुटिएको मन्त्रालयले जनाएको छ । नयाँ–पुराना गरी २० थान कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायतका सामग्री चोरी भएका छन् ।
त्यस्तै, विपद् व्यवस्थापन महाशाखा, बैठक कक्ष, दुई वटा जिन्सी समानको स्टोर लगायत तल्लो तलामा रहेका अधिकांश कोठा पूर्णरूपमा ध्वस्त भएको जिन्सी शाखाका उमेश सोतीले बताउनुभयो । आन्दोलनकारीले आन्तरिक मामिला तथा कानून मन्त्रीको कार्यकक्षमा रहेको टेलिभिजन सेट समेत चोरेका छन् ।
आगजनीका क्रममा मन्त्रालयमा पार्किङ गरिएका ५ वटा स्कुटर र २ वटा मोटरसाइकल जलेर नष्ट भएका छन् । त्यस्तै, सञ्चार उपकरणका रूपमा प्रयोग हुँदै आएको डिएसएल क्यामेरा समेत चोरी भएको मन्त्रालयका जिन्सी शाखाका स्वतीले जानकारी दिनुभयो । प्रारम्भिक मूल्यांकन अनुसार मन्त्रालयको करिब ७० लाख रुपैयाँ बराबरको जिन्सी सामग्री चोरी तथा आगजनीबाट नष्ट भएको अनुमान गरिएको छ ।
यसैबीच, मंगलबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा चोरी, लुटपाट गरिएका सामग्रीहरू फिर्ता गर्न आग्रह गरेको छ । मन्त्रालयका सचिव कृष्णबहादुर साहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा मन्त्रालयका सामानहरु लिएको वा कुनै माध्यमबाट प्राप्त गरिउको भए नजिकैको प्रहरी कार्यालय वा मन्त्रालयमा फिर्ता गरि सहयोग गर्न आम नागरिकमा आग्रह गरिएको छ । अन्यथा कानूनी कारबाही गरिने बताइएको छ ।
भदौ २४ गतेको आन्दोलनका क्रममा बागमती प्रदेशका अन्य मन्त्रालय र निकायमा समेत आगजनी तथा तोडफोड भएका छन् ।






