हेटौंडा उपमहानगरपालिका लयमा फर्कदै

छहारी संवाददाता
अशोज १, २०८२

जेनजी युवाहरुको प्रदर्शनका क्रममा क्षति पुगेको हेटौंडा उपमहानगरपालिकाले सेवा प्रवाह सुचारु गरेको छ ।

भाद्र २४ गते प्रदर्शनकारीले गरेको तोडफोड र आगजनीका कारण क्षति बेहोरेको उपमहानगरपालिका बिस्तारै लयमा फर्कन थालेको हो । उपमहानगरपालिकाले केही कक्षहरु सरसफाई गरी सोमबारदेखि आंशिक सेवा प्रदान गरिरहेको छ । साथै, फर्निचर लगायतका आवश्यक मर्मत कार्य पनि थालिएको छ ।

उपमहानगरपालिकाको राजस्व शाखा, जेन्सी शाखा, योजना शाखा, न्यायिक समितिको कार्यालय, स्वास्थ्य शाखा, सूचना प्रविधि शाखा, नगर प्रमुख तथा उपप्रमुखको कार्यालय, र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष पूर्ण रुपमा क्षति भएको प्रवक्ता सविन न्यौपानेले जानकारी दिनुभयो ।

यसका साथै प्रदर्शनकारीले हेटौंडा उपमहानगरपालिका परिसरमा रहेका २४ वटा दुई पाङ्ग्रे सवारी साधन, ११ वटा हलुका सवारी साधन, जेसिबी, टिपर र निजी अटो लगायतमा पूर्ण रुपमा क्षति पु¥याएका छन् ।

जनताको दैनिक जीवनसँग उपमहानगरपालिकाको कार्य जोडिने भएकाले पूर्ण रुपमा सेवा प्रवाह कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको प्रवक्ता न्यौपानेले बताउनुभयो । क्षतिग्रस्त भएका वडा कार्यालयबाट अत्यावश्यक सेवा प्रवाहको सूची बनाएर कार्य सञ्चालनको तयारी भइरहेको उहाँले बताउनुभयो ।

नजिकिँदै गरेको चाडपर्वको समयमा कर्मचारीहरुको तलब सुविधा, भुक्तानी गर्नुपर्ने रकम र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको प्रवक्ता न्यौपानेले बताउनुभयो ।

क्षतिको विवरण संकलन गर्न हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख डा. भीमप्रसाद तिमल्सिनाको नेतृत्वमा एक समिति गठन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*