बागमती प्रदेश सरकार खोज्दै प्रतिपक्ष

छहारी संवाददाता
भदौ ३१, २०८२

जेनजी आन्दोलनका कारण बागमती प्रदेश सभा, अधिकांश मन्त्रालय र मातहतका निकाय क्षतिग्रस्त बनेको छ ।

भौतिक संरचनादेखि महत्त्वपूर्ण अभिलेख नष्ट भएका कारण सामान्य प्रशासनदेखि सार्वजनिक सेवा प्रवाहसम्म प्रभावित भइरहेका छन् । तर संकटको समयमा समेत मुख्यमन्त्री र मन्त्रीहरूको भूमिका नदेखिएको भन्दै प्रतिपक्षी दलहरूले आलोचना गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमकट्टेलले मुख्यमन्त्रीदेखि मन्त्रीसम्म संवेदनशील घडीमा बेपत्ता भएको आरोप लगाउँदै भने, “आज प्रदेश सरकार खोज्नुपर्ने अवस्था आएको छ । सर्वदलीय बैठक डाकेर अघि बढ्नुपर्नेमा मुख्यमन्त्री र मन्त्रीहरू हराएका छन् । ”

उनले अभिभावकत्व ग्रहण गर्नुपर्ने बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र मन्त्रीहरूले जिम्मेवारी नलिएको कारण प्रदेशका कर्मचारीको मनोबल समेत घटेको बताए । “के गर्ने, कसरी गर्ने भन्ने द्धिविधामा कर्मचारी अलमलमा छन् ।  जलेर ध्वस्त भएको संरचनाबीच सरकार अभिभावक बन्नुपर्नेमा उल्टै भागिरहेको छ,” जमकट्टेलको आरोप थियो।

“संकट व्यवस्थापनमा सरकार अगाडि आउन नसक्ने हो भने भोलि जनता र राष्ट्रसेवक कर्मचारीको सामु कसरी मुख देखाउने? सरकार जिम्मेवारीबाट उम्कन सक्दैन,” जमकट्टेलले चेतावनी दिए ।

त्यस्तै, एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्ण प्रसाद शर्मा खनालले प्रदेश सरकारको उपस्थिति कम भएको महसुस भएको बताउँदै तत्काल संसद बैठक बोलाउन पर्ने आवश्यकता औँल्याउनुभयो ।  उनले भने, “चौरमा बसेर, पाल टाँगेर भए पनि संसद चलाउनुपर्छ । यस्तो अवस्थामा सरकार भाग्न मिल्दैन, लुक्न मिल्दैन।”

शर्माले माथिका नेताको अदूरदर्शी नीतिका कारण आजको दुखदायी अवस्था सिर्जना भएको बताउनुभयो । “जेनजीको माग ठिक छ । देशमा परिवर्तन आवश्यक छ । थप आवाज उठाउनपर्छ ” उनले भने ।

नेमकिपाका नेता सुरेन्द्रराज गोसाईले जनतामाझ माफी माग्दै इमान्दारिताका साथ प्रतिबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।  “जनताको हितमा काम नगर्ने, संकटको बेला भाग्ने प्रवृत्ति अब अन्त्य हुनुपर्छ । गोसाईले यस्तो कठिन घडीमा सिंगो देशकै हितलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउँनुभयो ।

“संकटको बेला काम गर्ने सामथ्र्य हिजोको सरकारमा पनि थिएन, आज पनि छैन । संकट आउनासाथ भागाभाग गर्ने प्रवृत्तिले नै जनतालाई निराश बनाएको हो,” उनले भने । “हिजो अवस्था सामान्य हुँदा पनि जनताको हितमा काम गर्न सकेनन् । आज वास्तविक संकटको बेला प्रदेश सरकार भागेको छ ” उनले थपे । “अब सुध्रिन्छौँ भनेर जनतालाई भन्न सक्नुपर्छ ।

चरित्र र प्रवृत्ति परिवर्तन नगरेसम्म यो अवस्थाबाट बाहिर निस्कन सकिँदैन, हिजोका भ्रष्टाचारीलाई कारबाही गरेर, भ्रष्ट प्रवृत्तिलाई अन्त्य गर्दै अघि बढ्नुको विकल्प छैन । ” उनको भनाइ थियो ।

आन्दोलन भएको एक साता बितिसक्दा पनि प्रदेशमा भएको क्षतिको आधिकारिक विवरण सार्वजनिक हुन सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*