जनताको जनबलमा आएको संविधानको रक्षा सबैले गर्नुपर्छः मुख्यमन्त्री बानियाँ

छहारी संवाददाता
भदौ १९, २०८२

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अहिलेको व्यवस्थाप्रति जनतालाई भरोसा जोगाउँदै संविधान संशोधन गर्नुपर्ने बताउनु भएको छ ।

संविधानलाई अझै व्यवस्थित र मर्यादित बनाउन केही प्रावधानहरुलाई संशोधन गर्नुपर्ने उहाँको भनाई छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को प्रदेशस्तरीय मूल समारोह समिति गठन तथा कार्यक्रम ब्यवस्थापन सम्बन्धी बैठकमा बोल्नुहुँदै मुख्यमन्त्री बानियाँले २०७२ सालमा जारी भएको संविधानले सबैको महत्व र अस्तित्वलाई स्वीकार गरेको बताउनुभयो ।

जनताको जनबलमा आएको संविधानको रक्षा गर्ने जिम्मेवारी सबैको भएको उहाँले उल्लेख गर्नुभयो । मुख्यमन्त्री बानियाँले संविधान दिवसलाई सबैले आ–आफने निकायबाट उत्सवको रुपमा मनाउनुपर्ने बताउनुभयो । उहाँले असोज १ गतेदेखि ३ गतेसम्म तीन दिन प्रदेश सरकारले संविधान मनाउने पनि जानकारी दिनुभयो ।

बैठकले संविधान दिवस मनाउन मुख्यमन्त्री बानियाँको अध्यक्षतामा ४३ सदस्यीय प्रदेशस्तरीय मुल समारोह समिति समेत गठन गरेको छ । संविधान दिवसको अवसरमा असोज १ गते ‘संविधानः सबल राष्ट्रको निर्माणको आधार’ विषयक विद्यालयस्तरीय निबन्ध प्रतियोगिता र सोही दिन युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषद्को आयोजनामा खेलकुद प्रतियोगिता समेत हुनेछ ।

त्यसैगरी असोज २ गते रक्तदान र वृक्षारोपण कार्यक्रम समेत हुनेछ । दिवसको मुख्य दिन असोज ३ गते हेटौंडा नगर क्षेत्रको विशेष सरसफाईको व्यवस्थापन गरिनेछ । सोही दिन हेटौंडाको भुटनदेवी मा।वि।बाट मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसम्म प्रभातफेरी गरी प्रदेश प्रमुखको प्रमुख आतिथ्यता र सभामुखको विशेष आतिथ्यतामा औपचारिक कार्यक्रम गरिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*