वडा देखी टाढा बसाइँ सरेका आफ्ना नागरिक खोज्दै वडाध्यक्ष वाइबा 

छहारी संवाददाता
भदौ १३, २०८२

पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका–३ का वडाध्यक्ष उत्तम वाइबा वडा देखी टाढा बसाइँ सरेका आफ्ना नागरिक खोज्दै चितवन र मनहरीसम्म पुग्नु भएको छ ।

आर्थिक वर्षको शुरुवातमा सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडाबासीको विवरण अद्यावधिक गर्न सेवाग्राही खोज्दै वडाध्यक्ष वाइवा गाउँबस्ती, छिमेकी पालिका हुँदै छिमेकी जिल्लासम्म पुग्नुभएको हो ।
वडा बाहिर रहेका आफ्ना नागरिकको बसोबास स्थानमै कर्मचारीसहित पुगेर वडाध्यक्ष वाइबाले अशक्त, अपांग तथा ज्यष्ठ नागरिकहरूको विवरण अद्यावधिक गरिरहनु भएको छ ।

राक्सिराङ गाउँपालिकाका वासिन्दा बसार्ईं सरेर नजिकैको मनहरी र सीमा जिल्ला चितवनको राप्ती नगरपालिकासम्म पुगेका छन् । विकट गाउँको बस्तीबाट शहरमा बसोबास गरे पनि उनीहरुको मतदाता अधिकार पुरानै वडामा रहेको छ ।

“वडाका केही मानिस चितवनतिर, केही मनहरीतिर बस्छन् ।  गाउँ आउन बाढी, खोला र बाटोको समस्या हुँदा उनीहरूलाई वडासम्म आउन गाह्रो हुन्छ। त्यसैले हामी नै उनीहरूको घरमै पुगेका हौँ,” वडाध्यक्ष वाइबाले भन्नुभयो । ‘यसो गर्दा गाउँबस्तीमा वासिन्दासँग सम्बन्ध पनि नवीकरण हुन्छ, पछि भत्ता वितरणमा समस्या पनि हुँदैन र हजारौँ खर्च गरेर वडामा पुग्नपर्ने झन्झट पनि टर्छ  ।

उहाँको यो कदमलाई स्थानीयले निकै प्रशंसा गरेका छन् । घरमै स्थानीय सरकार पुगेपछि जेष्ठ नागरिक निकै खुसी हुनुका साथै आशीर्वाद समेत दिएका छ्न । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले  भौगोलिक हिसाबले आउजाउमा कठिन हुने जेष्ठ नागरिक र अशक्तलाई घरमै गएर सेवा दिने काम प्रभावकारी भएको बताउनुभयो ।

बुधबारदेखि सुरु भएको अभियान आइतबारसम्म जारी रहने वडा अध्यक्ष वाइवाले बताउनुभयो ।  यस अवधिमा कम्तीमा ५० जना जेष्ठ तथा अशक्त नागरिकलाई घरमै पुगेर सेवा दिने योजना रहेको छ ।

राक्सिराङको केही वडा हेटौँडा र मनहरी बजारसँग जोडिएको छ भने केही वडामा जान चितवनको राप्ती नगरपालिका हुँदै जानुपर्ने अवस्था रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*