बागमतीमा ‘नो हेल्मेट, नो फ्यूल’ अभियान कार्यान्वयन हुने

छहारी संवाददाता
भदौ १२, २०८२

बागमती प्रदेशमा अब दुईपाङ्ग्रे सवारी साधनमा हेल्मेट नलगाई पेट्रोल पम्पबाट इन्धन नपाइने भएको छ ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ‘नो हेल्मेट, नो फ्यूल’ अभियान तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । अभियानको प्रभावकारी कार्यान्वयनका लागि जिल्ला प्रशासन र सुरक्षा निकायमार्फत निगरानी गरिनेछ । यससँगै नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन बागमती प्रदेशले पेट्रोल पम्पमा ‘हेल्मेट अनिवार्य’ भन्ने सन्देशमूलक बोर्ड राख्ने व्यवस्था मिलाउन पत्राचार गर्ने निर्णय भएको छ ।

मुख्यमन्त्री बानियाँले बढ्दो सवारी दुर्घटना नियन्त्रणका लागि सवारी चालकको मादक पदार्थ तथा लागू पदार्थ सेवन परीक्षणलाई नियमित र प्रभावकारी बनाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

बैठकमा नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका तर्फबाट प्रदेशभित्र दिनानुदिन बढ्दो दुर्घटनाको अवस्था र कारणबारे प्रस्तुतीकरण राखिएको थियो ।

छलफल तथा निर्देशन कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, प्रमुख सचिव भुपाल बराल, श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बिरेन्द्रकुमार भारती, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख अरुण पौडेल, बागमती प्रदेश सशस्त्र प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक अन्जनी कुमार पोखरेल, पेट्रोलियम डिलर्स एसोसिएसन बागमती प्रदेशका अध्यक्ष शुदर्शन कार्की लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*