महिला गोल्डकपको उपाधि एपीएफलाई, रश्मिले पाइन् स्कुटर

छहारी संवाददाता
बैशाख २५, २०८२

सातौं सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । हेटौंडा ६ स्थित गौरीटार रंगशालामा बिहिबार भएको फाइनल खेलमा अर्का विभागीय टोली नेपाल पुलिसलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकर तर्फ धकेलिएको थियो ।

एपिएफका लागि टाइब्रेकरमा गीता राना मगर, कप्तान अनिता बस्नेत र निशा थोकरले गोल गरिन् । रश्मि कुमारी घिसिङको प्रहार पुलिसकी गोलरक्षक उषा नाथले सेभ गरिन् । पुलिसका लागि गोलरक्षक उषाले मात्रै गोल गरिन् ।
पुलिसकी कप्तान निरु थापाकी प्रहार एपिएफकी गोलरक्षक अञ्जना राना मगर सेभ गरिन् । रेविका पाण्डेकी प्रहार गोल्डपोष्टमा ठोकिएर फर्किए भने सुस्मा तामाङकी प्रहार बाहिरिइन् ।

फाइनल खेलको प्लेयर अफ दि म्याच एपीएफकी गोलरक्षक अन्जना राना मगर घोषित भइन् । उनले नगद १० हजार पनि प्राप्त गरिन् । उपाधि संगै एपीएफले पाँच लाख सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी उपबिजेता बनेको पुलिसले नगद ३ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपिएफकी रश्मि घिसिङ घोषित भइन् । उनले स्कुटर प्राप्त गरिन् । उनले वीरगंजविरुद्धको खेलमा ५ गोल र संकटाविरुद्धको खेलमा गोल गरेकी थिइन् । उनलाई बागमती प्रदेश सभाका सदस्य इन्द्रबहादुर बांनियाले स्कुटर प्रदान गरेका थिए ।

एपिएफका क्रमशः उत्कृष्ट गोलरक्षक अञ्जना राना मगर, उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी र प्रशिक्षक जिवेश कुमार पाण्डे घोषित भए ।
यस्तै पुलिसकी मिना देउवा उत्कृष्ट फरवार्ड र डिफेन्डर समीक्षा घिमिरे घोषित भइन् ।

विधागत सबैले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजना बैशाख १९ गतेबाट सुरु भएको प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*