मेयर कप फुटबल यस वर्ष जेठ ३ गतेदेखि हुने

छहारी संवाददाता
बैशाख ९, २०८२

मेयर कप फुटबल प्रतियोगिता यस वर्ष जेठ ३ गतेदेखि हुने भएको छ ।

हेटौँडा उपमहानगरपालिकाका वडाहरूबीच प्रतिस्पर्धा गराई दक्ष खेलाडी उत्पादन गर्ने, वडा वडा बिच सुमधुर सम्बन्ध बिस्तार गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

हेटौंडा ५ स्थित क्याम्पा रंगशालामा हु्ने प्रतियोगितामा उपमहानगरका १९ वटै वडाबाट सिफारिस भएर आएका टिमको सहभागिता रहने नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार, प्रतियोगितामा भाग लिन चाहने टिमले वैशाख २८ गतेसम्म नगरपालिकाको कार्यालय, खेलकुद विकास समितिमा निशुल्क दर्ता गर्न सक्नेछन् । राष्ट्रिय टिममा आबद्ध भैसकेका खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् ।

प्रतियोगितको विजेता टिमले नगद रु दुई लाख ५० हजार र उपविजेताले २ लाख नगद सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, विधागत तर्फ सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, उत्कष्ट फरवार्ड, किपर, उत्कृष्ट प्रशिक्षक र डिफेन्सलाई जनही नगद १० हजार प्रदान गरिने अध्यक्ष घिमिरेले बताउनुभयो । प्रतियोगिता सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिकाले २० लाख बजेट विनियोजन गरेको छ ।

यसअघि सम्पन्न मेयर कप फुटबल प्रतियोगिता– २०८१ को उपाधि हेटौंडा–४ ले जितेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*