फागुन १ गते हेटौडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा हुँदै

हेटौंडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा हुने भएको छ । ५६ औं नगर स्थापना दिवसको अवसर पारेर हेटौंडा उपहानगरपालिकालाई यही फागुन १ गते बालमैत्री नगर घोषणा गर्ने तयारी गरिएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उपमहानगरले बालमैत्री स्थानीय तह घोषणाको आवश्यक सबै तयारी पूरा गरेको जानकारी गराएको छ ।
हेटौंडा ५ स्थित क्याम्पा रंगशालामा नेपाल सरकारका उप–प्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा समारोह हुने बताइएको छ । बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाका लागि बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र घोषणाा कार्यविधि २०७९ मा आधारित भैई आवश्यक सबै सूचक उपमहानगरले पूरा गरेको नगरप्रमुख मिना कुमारी लामाले जानकारी दिनुभयो । घोषणाका लागि आवश्यक ५१ सूचक मध्य ४३ सूचकमा सतप्रतिशत नतिजा उपमहानगरले प्राप्त गरेको छ ।
बागमती प्रदेश स्तरीय अनुगमन समितिबाट अनुगमन भइ बालमैत्री घोषणाको लागि प्रदेशको सामाजिक विकास मन्त्रालय बाट अनुमति समेत प्राप्त गरिसकेको नगरप्रमुख लामाले जानकारी दिनुभयो । उपमहानगरमा एउटा नगरस्तरीय बालसंजाल साहित २० वटा वडास्तरीय समिति ३ सय ७१ वटा बाल समुह रहेको छ । १९ वटा वडा रहेको हेटौडा उपमहानरपालिकामा १८ वर्षमुनिका ५० हजार १ सय ९५ बालबालिका रहेका छन् ।
हेटौंडा उपमहानगरका सबै वडा बालमैत्री घोषणा भैसकेका छन् । मकवानपुर जिल्लामा यसअघि मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिका बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा भइसकेका छन् ।बालमैत्री स्थानीय तह घोषणा समारोहमा सबै वडा कार्यालयलाई वडाको व्यानरमा आ–आफ्नो पहिचान झल्कने झाँकी,¥याली सहित अनिवार्य सहभागिताको लागि नगर कार्यपालिका कार्यालयले पत्राचार गरेको छ ।