गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चितः बागमती प्रदेश सरकार

छहारी संवाददाता
माघ २३, २०८०

बागमती प्रदेश सरकारले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक बजेटको स्रोत सुनिश्चितता गरेको छ ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि बजेटको स्रोत सुनिश्चित गर्ने निर्णय गरेको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो । रंगशाला निर्माणका लागि ५२ करोड ५० लाख रुपैयाँको स्रोत सुनिश्चित भइसकेको उहाँले बताउनुभयो ।

यसअघि कात्तिक २१ ग्ते बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच रंगशाला निर्माणका लागि कुल ७५ करोड रुपैयाँको लागत अनुमानको ७० प्रतिशत प्रदेश सरकारले व्यहोर्ने सम्झौता भएको थियो ।

यसैगरी, मंगलबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको माग अनुसार संघीय समपुरक र विशेष अनुदानको लागि १०/१० वटा योजना सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले अघिल्लो आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न भएर भुक्तानी हुन बाँकी रहेका योजनाहरूको भुक्तानी दिने निर्णय गरेको छ । बैठकमा अहिले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका योजनाको भुक्तानी दिने निर्णय भएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिनुभयो ।

बैठकमा फागुनको दोश्रो साता हिउँदे अधिवेशन बोलाउने तयारी बारे पनि छलफल भएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली कांग्रेसको महासमिति बैठक र नेकपा माओवादी केन्द्रको विधान अधिवेशन रहेकोले फागुनको दोश्रो हप्ता मात्र अधिवेशन बोलाउने बारे छलफल भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*