हेटौंडा अस्पतालमा एक वर्षे एनेस्थेसिया सहायकको तालिम सुरु

छहारी संवाददाता
२४ मंसिर २०८०, आईतवार १७:३०

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालमा एक वर्षे एनेस्थेसिया सहायकको तालिम सुरु भएको छ ।

आइतबार बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दीपक तिवारीले तालिमको उद्घाटन गर्नुभएको हो । तालिमको उद्घाटन गर्दै सचिव तिवारीले एनेस्थेसियाको जनशक्ति उत्पादनका लागि प्रदेश सरकारले तालिम सुरु गरेको बताउनुभयो ।

मन्त्रालयले विभिन्न पटक सुचना निकाले पनि जनशक्ति नपाएपछि मन्त्रालय आफैले तालिम सञ्चालन गरेको उहाँले बताउनुभयो । एक वर्षे तालिम लिएपछि प्रदेश मातहतका अस्पतालहरुमा सेवाको अवसर पाउने उहाँले बताउनुभयो । आफैले निर्णय गरेकोले काम गर्न कुनै बाधा नहुने उहाँको भनाई छ ।

यस्तै प्रतिष्ठानका निर्देशक तथा तालिम संयोजक सागर प्रसाद घिमिरेले मातृ मुत्युदर घटाउन एनेस्थेसिया जनशक्तिको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । अहिले एनेस्थेसिया जनशक्ति पर्याप्त नहुँदा अस्पतालमा समस्या भइरहेको उहाँले बताउनुभयो । एनेस्थेसियाको अनुपस्थितिमा शल्यक्रिया सेवा नै बन्द गर्नुपर्ने अवस्था आउने उहाँले बताउनुभयो ।

जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गर्ने क्रममा बेहोस गराउने काम स्वास्थ्यकर्मी एनेस्थेसियाले गर्दछ । तालिममा तीन जना प्रशिक्षार्थीहरु सहभागिता छन् । मन्त्रालयले निकालेको सुचनामा पाँच जनाले निवेदन दिएकोमा तीन जना छनौट भएका हुन् ।
छनौट हुनेमा हेटौंडा अस्पतालमा कार्यरत हेल्थ असिष्टेन्ट सन्तोष कुमार माझी र सुरेश मोक्तान रहेका छन् । यस्तै धादिङ जिल्ला अस्पतालमा कार्यरत स्टाफ नर्स मेरी तामाङ रहेकी छन् ।

सहभागीमध्ये माझीले स्वास्थ्य मन्त्रालयबाट पूर्ण छात्रवृत्ति पाएका छन् भने दुई जनाले ३ लाख रुपैयाँ बुझाउनु पर्नेछ । तालिम उद्घाटन कार्यक्रममा डाक्टर सुरेन्द्र शेरचन, डाक्टर दुर्गा कुमारी खड्का र अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर रामचन्द्र सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*