मकवानपुरको दुई स्थानिय तहका पशुचौपायामा लम्पी स्कीन भाइरस

मकवानपुर गढीको ५ वटा वडामा फैलिएको संक्रमण नियन्त्रण बाहिर
छहारी संवाददाता
चैत्र २१, २०७९

मकवानपुरको दुई स्थानिय तहका पशुचौपायामा देखिएको लम्पी स्कीन भाइरस रोग फैलिएको छ ।

हेटौंडा उपमहानगरपालिका र मकवानपुर गढी गाउँपालिकाका पशु चौपायामा यो रोगको संक्रमण देखिएको हो । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ७, ११, १२, १७ र १८ मा सङ्क्रमण फैलिएको छ । मकवानपुर गढीको ५ वटा वडामा फैलिएको संक्रमण नियन्त्रण बाहिर गएको गाउँपालिकाका पशु शाखा प्रमुख सत्य नारायण शाहले जानकारी दिनुभयो ।

मकवानपुरगढी गाउँपालिकाका करीब २ सय गाईमा यो रोग देखिएको छ । संक्रमणमा कारण ५ वटा पशुचौपाया मरेका छन् । लम्की स्किन रोगको गाउँपालिकाले निशुल्क उपचार सेवा प्रदान गरिरहेको छ । रोग निको पार्नका लागि भ्याक्सिन लगाउन पर्ने हुन्छ । तर, नेपालमा यो रोग बिरुद्ध भ्याक्सिन लगाउन अनुमती नभएको शाहले बताउनुभयो ।

रोग लागेका पशु चौपायालाई छुट्टै राखेर उपचार गर्नुपर्ने, पशुको स्याहार गर्ने किसानले पनि सरसफाईमा विशेष ध्यान दिनुपर्ने शाहले बताउनुभयो । यता, हेटौंडा उपमहानगरपालिकाले प्रभावित क्षेत्रमा कृत्रिम गर्भाधान र खोप कार्यक्रम बन्द गरेको छ । रोग प्रभावित पाँच वटा वडामा आकस्मिक उपचार बाहेकका अन्य सबै कार्यहरु बन्द गरेको उपमहानगरको पशु शाखाले जनाएको छ ।

संक्रमित पशुलाई टोकेको झिङ्गा, लामखुट्टे ,उपैयाँ र किर्नाले अर्को पशुलाई टोकेमा , दानापानी र पशुको संसर्ग आदीबाट रोग फैलिने पशु सेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख बज्र किशोर ठाकुरले बताउनुभयो । यो रोगको संक्रमण भएपछि पशुमा उच्च ज्वरो आउने, छालामा फोका आउने, गर्भ तुहिने र दूध उत्पादनमा कमि हुने लक्षण देखा पर्ने गर्छ । यो रोगको मृत्युदर १ देखि ४ प्रतिशत सम्म रहेको प्रमुख ठाकुरले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*